काठमाडौं । नेकपा एमाले पोलिटबयूरो सदस्य प्रदीप नेपालले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तानाशाहको उपमा दिएका छन् ।उनले गोरखापत्रमा लेख लेख्दै अध्यक्ष ओली जनकार्यबाट नआएको भन्दै अन्तरपार्टी जनवाद नदिने गरेको बताए ।
नेपालले लेखमा भनेका छन्, ‘पार्टी चलाउनु र सरकार चलाउनु भिन्न कुरा हुन् । अध्यक्ष ओली जनकार्य गरेर आउनु भएको होइन । त्यसैले उहाँ अन्तरपार्टी जनवाद दिनु हुन्न ।’
नेपालले जति कोशिस गरे पनि ओली माक्र्सवादी हुन नसक्ने दावी गर्दै त्यसको अपेक्षा नगर्न पनि सुझाव दिएका छन् । साथै उनले ओलीलाई स्टालीनवादीको संज्ञा दिँदै कम्युनिस्ट पार्टी तानाशाह नै भएको दावी गरेका छन् ।
उनले अघि भनेका छन्, ‘उहाँ माक्र्सवादी पनि हुन सक्नु हुन्न जति कोसिस गरे पनि उहाँबाट माक्र्सवादी हुने अपेक्षा नगरे हुन्छ । उहाँ स्टालिनवादी हुनुहुन्छ । स्टालिनकालीन विकास विश्वको नमूना हो । तर, कम्युनिस्ट पार्टीमा उहाँ साँच्चिकै तानाशाह हो । केपी ओलीलाई पनि यस्तै मान्छे मान्न सकिन्छ ।’
उनले ओली तानाशाह नभएको भए चुच्चे नक्सा पनि नछापिने जिकिर गरेका छन् । एउटा चुृच्चे नक्साकै कारण कुमाउ गढवालसम्म ग्रेटर नेपालको चर्चा भएको सत्यलाई कसैले बिर्सन नहुने पनि नेपालले बताएका छन् ।
लेखमा नेता नेपालले भनेका छन्, ‘त्यत्तिकै कसैले छाप्न नसकेको चुच्चे नक्सा छापिएको हैन नि ! पछि त्यो चुच्चो लुकाइयो भनिन्छ । होला पनि । सबै मान्छे मदन भण्डारी हुँदैनन् क्या रे ! तर एउटा चुच्चे नक्साले ग्रेटर नेपालको चर्चा भएको सत्यलाई बिर्सन भने पाइँदैन । अब ग्रेटर नेपालको चर्चा दार्जिलिङ र कुमाउ गढवालमा समेत चल्न थालेको छ । यो निकै राम्रो कुरा हो ।’
नेता नेपालले यस आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको बचाउ पनि गरेका छन् । विपक्षीहरुले सरकारले महत्वाकांक्षी बजेट ल्याएकोमा विरोध गरेको भन्दै नेता नेपालले अब महत्वकांक्षी कार्यक्रम नहुने हो त्यस्तो सरकार नेपालीलाई नचाहिएको जिकिर गरेका छन् ।
नेता नेपालले भनेका छन्, ‘बजेटमा समेटिएका कार्यक्रमहरू कार्यान्वयन गर्न सरकारको काम हेर्ने हो । महत्वाकांक्षी भनेर ज–जसले आलोचना गर्नु भयो र महत्वाकांक्षा नभएको, पोहोरभन्दा दश प्रतिशत बढी भन्ने पार्टी अब सरकार चलाउने सपना नदेखे हुन्छ । अधिकतम कार्य गर्नका लागि महत्वाकांक्षी योजना र काम नगर्ने हो भने त्यस्तो सरकार अब नेपालीलाई चाहिएको छैन ।’
पार्टीभित्रको गुटगत लडाईमा नेपाल ओली पक्षमै मौन छन् । उनी अर्थमन्त्री विष्णु पोडेललाई भूमिगत बनाउने नेता हुन् । पौडेलले नेपाललाई आफ्ना गुरु मान्ने गरेका छन् ।
यस्ताे छ नेता नेपालले गाेरखापत्रमा लेखेकाे लेख