काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनर्गठन गरेर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।केपी ओलीले सहमतिको नाममा नाटक गरिरहेको र उनी एकताको लागि इमान्दार नरहेको खनालले आरोप लगाए ।
आफूपक्षीय केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकलाई बिहीवार सम्बोधन गर्दै खनालले पार्टी पुनर्गठन गर्न अब ढिला गर्न नहुने बताए ।
‘हामी ७० वर्ष कटेका नेतालाई के जिम्मेवारी दिने हो दिनुस्, तपाईंहरू अगाडि बढ्नुस्, क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाऔं,’ खनालको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने ।
खनालले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोभियत संघको कम्युनिस्ट पार्टीका महासचिव मिखाएल गोर्वाचोभसँग तुलना गर्दै कम्युनिस्ट पार्टी ध्वस्त गर्न लागेको आरोप लगाए ।
‘ओलीले अहिले गोर्वाचोभकै लाइनमा कम्युनिस्ट पार्टीलाई बिसर्जनतर्फ लगेका छन्, वार्ताको भ्वाङमा फस्नु हुँदैन । वार्ता समयअनुसार जहिले पनि हुन्छ, अहिले पुनर्गठन गरेर जानुपर्छ,’ खनालले भने ।
खनालले ओलीको प्रतिगमनविरुद्ध संयुक्त वामपन्थी र लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्ने बताए । खनालको भनाइलाई केही केन्द्रीय सदस्यहरूले समर्थन गरेका छन् ।
बैठक शुरूआत गर्दै नेता माधव नेपालले केन्द्रीय सदस्यहरूको राय सुनेर अन्तिममा बोल्ने बताएका थिए । बैठकमा संस्थापन पक्षका नेताहरूसँग निरन्तर संवादमा रहेका घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले पनि ब्रिफिङ गरेका छन् ।