काठमाडौँ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले बुधवार एक प्रतिवेदन प्रकाशन गर्दै कोभिड महामारीका कारण रोजगारीमा पर्ने असरको विस्तृत विवरण प्रस्तुत गरेको छ ।
रिपोर्टमा उल्लेख भएअनुसार, महामारीको असर सन् २०२२ मा पनि रहनेछ र २० करोड मानिस बेरोजगार हुने आशंका छ । अहिले नै १० करोड ८० लाख मानिस गरीब वा अत्यन्त गरीबको क्याटेगोरीमा आएका छन् ।
कुल १६४ पृष्ठ लामो ‘विश्व रोजगार तथा सामाजिक परिदृश्य : प्रवृत्ति २०२१’ नामक प्रतिवेदनका अनुसार, ठोस नीतिगत प्रयासको अभावमा महामारीले अप्रत्याशित विनाश मच्चाएको छ । यसको असर कैयौं वर्षसम्म रहनेछ । रोजगारी र काम गर्ने समयमा कमीका कारण बेरोजगारी संकट थप गहिरो बन्नेछ ।
महामारीको संकट नआएको भए संसारमा ३० करोड नयाँ जागिर सन् २०२० मा नै सिर्जना हुने थियो भनी प्रतिवेदनले औंल्याएको छ । (एजेन्सी)