चितवन। रत्ननगरका पाँच राजनीतिक दलले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली तानाशाहीको बाटो हिँड्न खोजेको आरोप लगाएका छन् ।
रत्ननगरका पाँच राजनीतिक दलले प्रतिनिधिसभा विघटन गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाली जनताको सात दशक लामो बलिदानीपूर्ण संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको मुल मर्म र भावनाविपरीत मध्यरातमा चालिएको असंवैधानिक, अलोकतान्त्रिक र अराजनीतिक स्वैच्छाचारी कदमकोे घोर भत्र्सना गरेका हुन ।
‘प्रधानमन्त्री र स्वयं राष्ट्रपति समेत अलोकतान्त्रिक, निरकुंश, तानाशाही बाटो हिँड्न खोजेको प्रमाणित भएको छ । तसर्थ संवैधानिक र राजनीतिक विधिबाट समेत यस प्रकारको अलोकतान्त्रिक, असंवैधानिक र सर्वसत्तावादी कदम सच्चाउँदै देशलाई संविधानवाद र लोकतान्त्रिक दिशामा अघि बढाउने अभियानमा सरिक भइदिनु हुन सम्पूर्ण राजनितिक दल, नागरिक समाज, पत्रकार, पेशाकर्मीलगायत सम्पूर्ण रत्ननगरवासी सबैमा हार्दिक अपील गर्दछौंँ’ पाँच राजनीतिक दलद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
नेपाली कांग्रेसका नगर सभापति रुपनराज घिमिरे, नेकपा माओवादी केन्द्रका नगरअध्यक्ष ओम लामिछाने, नेकपा एमालेका नगर अध्यक्ष बद्रीनाथ घिमिरे, जनता समाजवादी पार्टीका नगर अध्यक्ष सृजना श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष नरहरी पुरीद्धारा जारी गरिएको विज्ञप्तिमा स्वास्थ्य तथा जनजीविकालगायतका निम्न लिखित विषयहरुमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहेको कुरा उल्लेख छ ।
१, नेपाल सरकारद्वारा गरिएका कोभिड १९ को निःशुल्क उपचार गर्ने निर्णय कार्यन्वयन गरियोस् । साथै, अस्पतालहरुमा देखियको अक्सिजन,खोप,लगायत स्वास्थ सामाग्रीको यथोचित व्यवस्था गरियोस ।
२, बन्दाबन्दीको कारण प्रभावित मजदुर,किसान,सुकुम्बासी जनताको जिवननिर्वाहको निम्ति तुरुन्त राहतको व्यवस्था गरियोस ।
३, स्थानीय कृषि उत्पादन तरकारी तथा खाद्य उत्पादनको बिक्री वितरण व्यवस्था मिलाइयोस् साथै महगी र कालो बजारी नियन्त्रण गरियोस ।
४, कोभिड १९का कारण यसको रोकथाम नियन्त्रण तथा न्युनिकरणका लागि अहोरात्र खट्नुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा पत्रकारबन्धुहरुको क्रियाशिलता प्रति उच्च सम्मान व्यक्त गर्दछौँ ।
विज्ञप्तिमा कोभिड १९ को नियन्त्रण, रोकथाम, उपचार कार्यमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई स्वंयसेवीकाको भूमिकामा सक्रिय भूमिका निर्वाह गर्न जिल्लाका पाँच राजनीतिक दल सम्बद्ध पार्टी कमिटी, भातृ जनवर्गीय संगठन एवं शुभेच्छुकहरुमा आव्हानसमेत गरिएको छ ।