चितवन । अवैध रुपमा विक्रि वितरण गर्न ल्याईएको धानको बीउ एकैदिन ठूलो परिमाणमा ट्रक सहित नारायणगढबाट बरामद् भएको छ । स्थानीय प्रशासन, कृषि ज्ञान केन्द्रले अनुगमनको क्रममा अवैध रुपमा ल्याईएको गोरखनाथ ५०९ जातको बीउ बरामद गरेको हो ।
नेपाल सरकारले सूचीकरणबाट हटाएको १०९ बोरा गोरखनाथ ५०९ जातको धानको बीउ नियन्त्रणमा लिइ जफत गरिएको कृषि ज्ञानकेन्द्र, चितवनका प्रमुख राजन ढकालले जानकारी दिए । नारायणगढको कमलनगरस्थित स्वस्तिक ट्रान्सपोर्ट कम्पनीबाट उक्त परिमाणमा बीउ जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, चितवन र पत्रकारसहितको टोलीले आज (मंगलबार)बरामद गरेको हो । यसअघि ६० बोरा उक्त जातको बीउ बरामद गरिएको भनिएपनि टोलीले थप अनुसन्धान र खानतलासी गर्दा थप परिमाणमा बरामद् गर्न सफल भएको हो । ‘बिहान हामीले ६० बोरामात्र बरामद गरेका थियौं ढकालले भने, यसमा संलग्न अन्य बीउबीजन वितरक रहेको थाहापाएपछि थप १०९ बोरा नियन्त्रण गर्न सफल भएका हौं ।’
कृषि ज्ञान केन्द्रका प्रमुख ढकालका अनुसार नेपाल सरकारले सूचीकरण बाट हटाएको गोरखनाथ ५०९ जातको धानको बीउ बजारमा अवैध बिक्री वितरण भईरहेको गोप्य सूचनाको आधारमा अनुगमन गर्दा उक्त परिमाणमा धानको बीउ बरामद गरिएको हो । कोशी अर्गानिक मल विराटनगरबाट स्वस्तिक ट्रान्सपोर्ट कमलनगरको गोदामबाट उक्त परिमाणको अवैध गोरखनाथ ५०९ धानको बीउ बरामद गरिएको ढकालले जानकारी दिए । कोशी अर्गानिक मल धरान रोड विराटनगरबाट बीलबीजक जारी भई अवैध धानको बीउ चितवन पठाइएको ढकालको भनाई छ ।
बरामद गरिएको धानको बीउ सहित ट्रक र चालक जिल्ला प्रशासन कार्यालयमा राखिएको छ । अनुसंन्धान जारी रहेकाले यस कार्यमा कति संलग्न छन् भन्ने विषय खुल्न सकेको छैन । राष्ट्रिय बीउ बिजन ऐन अनुसार, दोषि ठहरिएमा १० देखि २० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।