चितवन । धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५० वटा अक्सिजन सहितको सिलिण्डर सहयोग गरेको छ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण फैलिएसँगै अस्पतालहरुमा हुने अक्सिजन अभाव कम गर्न फाउण्डेशनले सिलिण्डर सहयोग गरेको हो । आज फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले अस्पतालका कार्यकारी निर्देशक देजकुमार गौतमलाई सिलिण्डर हस्तान्तरण गर्नुभयो ।
अहिलेको महामारीमा मात्र नभई दिर्घकालिन रुपमा अस्पताललाई सहयोग पुगोस् भन्ने हेतुले अक्सिजनसहितको सिलिण्डर खरिद गरि सहयोग गरिएको धुर्मुसले बताउनुभयो । उहाँले क्यान्सर अस्पतालमा तत्कालको आवश्यकता देखेरनै सिलिण्डर सहयोग गरिएको जानकारी दिनुभयो । चितवनमा सक्रिय युवाहरुको साथ र सहयोगमा कोभिडको कहरले भएका समस्या समाधानका काम गरिरहेको उहाँको भनाई छ ।
सो अवसरमा क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले क्यान्सरका विरामीको वेड कटौती गरेर अस्पतालले कोभिडको उपचार सुरु गरेको जानकारी दिनुभयो । कोरोना महामारीको समयमा जो कोहीसँग भएको अक्सिजन सिलिण्डर अस्पताललाई सहयोग गरेर सङ्क्रमित बिरामीको उपचारमा सहयोग गर्न उहाँले आग्रह समेत गर्नुभयो ।
अस्पतालले सघन उपचार कक्षसहित १४० बेडको कोभिड वार्ड संचालनमा ल्याएको छ । ४५० बेडको क्यान्सर अस्पतालमा हाल १७० जना क्यान्सरका बिरामी उपचाररत छन् ।