चितवन । नारायणगढबाट देवघाट जाने क्रममा बाटोमा पर्छ बागेश्वरीको जंँगल । यहाँ स्थानीय जातको गाईको संरक्षणका लागि गौशाला छ । प्राकृतिक चिकित्सालय पनि छ । बाटोको छेवैमा एक हुल बांँदर त्यहांँ छरिएको चामल, चिउरा, चना खाँदै थिए । सुनसान जस्तै यो बाटोमा कताकति एक दुईवटा मोटरसाइकल आवतजावत गरिरहेका थिए । तर, ती बांँदरहरु कसैको परवाह नगरी आफ्नो पेट भर्नमात्र केन्द्रित थिए । बागेश्वरी क्षेत्रबाट करिब डेढ किलोमिटर दूरीमा पवित्र देवघाटको मुख्य क्षेत्र आउंँछ । जहांँ मन्दिर र नै मन्दिर छन् । तर, यतिबेला दर्शनार्थी छैनन् । मूर्ति छन् । घण्ट छन्, त्रिशुल छन् तर पूजारी छैनन् । केही हप्ता अघिमात्र दर्शनार्थीको भीडभाड हुने देवघाट क्षेत्र अहिले सुनसान छ । केही बृद्धबृद्धा सितलता लिन चौतारीमा बसेका छन् ।
तर, देवघाटको गहना, भएका बांँदर भने यताउता दगुरिरहेको बोटविरुवामा एक अर्कामा हामफालिरहेको देखिन्छ । हुनत बांँदरको बिशेषता रुखमानै चढ्ने उफ्रिने हो । तर, यतिबेला उनीहरुमा खासै रौनकता देखिँदैन । अहिले उनीहरु थप आक्रामक स्वभावका देखिएका छन् । कोही मानिस आयो कि प्रत्येक बांँदरको ध्यान तिनै मानिसमा हुन्छ । आक्रमण गर्न होइन केही ल्याइदिएका छन् की भनेर ।
अहिले करिब देशभर निशेधाज्ञा छ । मानिस, सवारीसाधनको आवतजावत ठप्प प्रायः छ । कोरोना कहरका कारण सडक सुनसान छ, वरिपरिका वातावरण शान्त प्रायः छ । तर, चितवनका अस्पतालको दृश्य भने फरक छ । एम्बुलेन्सको हुंँईहुंँई आवाज, अस्पतालमा बिरामीको चित्कार मात्र सुनिन्छ । मानिस कोरोना संक्रमित छन् । उनीहरु आत्तिएका छन् । तर, यस्तो महामारीको बेला मानिसलाई रोग चिन्ता हुनेनै भयो । त्यसभन्दा बढी चिन्ता देवघाटका बांँदरलाई छ । “दुईहप्ता भयो दर्शनार्थी पनि आउन बन्द छ । बांँदरले पनि राम्रोसंँग खान पाएका छैनन्,” देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरे भन्छन् ।
गतसाल विभिन्न सामाजिक संस्थाले बांँदरलाई खानेकुरा दिए पनि यो वर्ष कोरोनाको थप जोखिमका कारण खानेकुरा उपलब्ध गराउन नसकिएको उनले बताए । “यहीँ बसोबास गर्ने बासिन्दा, मन्दिर, आश्रमबाट बाँकी रहेको खाना दिएका छन् । तर, त्यतिले उनीहरुको पेट भरिएको छैन,” उनले भने । हाल बृद्धाश्रमका रहेका बेसाहारालाई खाना बस्न राम्रो सुविधा दिए पनि बांँदरकालागि भने हालसम्म केही गर्न नसकिएको उनले बताए । यहांँ तनहुंँतर्फको देवघाट क्षेत्र र चितवनतर्फ गरी दुई हजार बांँदर रहेको अनुमान समितिको छ ।
गतसाल निशेधाज्ञाको समयमा पूजा, यज्ञ, श्राद्ध, ब्रतबन्धलगायत कार्यक्रमहरु फाट्टफुट्ट हुने गथ्र्यो तर अहिले देवघाट गाउंँपालिकाले देवघाट प्रवेशमै कडाइ गरेको छ । देवघाट प्रवेश गर्ने दुबै प्रवेशद्धारमा हेल्प डेस्क राखिएको छ । “के गर्नु बांँदरको पनि यस धर्तीमा बांँच्न पाउने अधिकार छ । तर, दाताहरु हुंँदाहुँदै पनि खानेकुरा उपलब्ध गर्न सकिएन,” गाउंँपालिका अध्यक्ष दुर्गा थापाले भने । खानेकुराको अभाव भएपछि बांँदरले घरभित्र पसेर खानेकुरा लैजाने, मानिसलाई आक्रमण गर्ने र लगाएको तरकारीखेती पनि उखेलेर फ्यांँकिदिने गरेको उनले बताए ।
“गतसाल औसत ३ वटा शव आउंँथे अहिले त दिनकै २३ वटासम्म शव आउने गरेको छ । इतिहासमै यति धेरै शव एकैदिन आएको देखेको थिइँन,” समितिका कार्यकारी निर्देशक घिमिरे भन्छन् ।
यो समय न देवघाटका जंगलमा कुनै फलफूलका बोटहरुमा फल पाकेका छन् न त यो समय फलफूल पाक्न समय नै हो । त्यही पनि प्रत्येक बोट चाहार्दै खानेकुराको खोजीमा बांँदरहरु हुल बाँधेर हिंँडिरहेको देखिन्छ ।
देवघाट धार्मिक दृष्टिले उत्तिकै प्रख्यात भए पनि बांँदर भएकै कारण यसको थप विशेषता छ । समितिका पूर्वपदाधिकारी, स्थानीय तह, समाजसेवी लगायतको समूहले बांँदरको व्यवस्थापन र नियमित खानेकुरा दिन योजना नल्याएका होइनन् । “मैले इन्डोनेशियामा जस्तै बांँदरपार्क बनाउंँन भनेर समिति, स्थानीय तहलाईसमेत भनेँ तर अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन,” समितिका पूर्व अध्यक्ष टंक पौडेल भन्छन् । देवघाटमा दर्शनको साथै बांँदर हेर्नसमेत पर्यटकहरु आउने हुनाले देवघाटको छुट्टै महत्व र पहिचान भएको पौडेलले बताए । “पार्क बन्यो भने बांँदरले बदमासी पनि गर्दैन । यसको संरक्षण पनि हुन्छ । पर्यटक पनि बढ्छन् । बांँदर त हनुमानको प्रतिक हुन्,” पौडेलले भने ।
बागेश्वरी मन्दिर नजिकका दुईसय बांँदरलाई नारायणगढका समाजसेवी चन्दन अग्रवालले नियमित चना–चिउरा दिए पनि देवघाटका बांँदरको लागि अपुग हुने उनले बताए । “अहिले बांँदर भोकै छन् । हामी पनि बाहिर निस्कन सकेका छैनौं । दर्शनार्थी जान पनि कडाई गरिएको छ,” उनले भने ।