चितवन । भरतपुर अस्पताल अहिले कोरोना संक्रमित बिरामीले भरिएको छ । अस्पतालमा संक्रमितको संख्या थपिँदै गएपछि अस्पतालले १४५ बाट शय्या संख्या बढाएर आइसियूसहित २०० शय्या पुर्याउने तयारी गरिरहेको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले फेसबुकमार्फत जानकारी दिएका छन्।
दाङ, सल्यान, प्युठान, रुपन्देही, मकवानपुर, पर्सालगायतका २२ जिल्लाबाट, आइसियू छ भनेर दैनिक १०० भन्दा बढी फोन आउने गरेको उनले बताए। तर, अस्पतालमा सबै शय्या भरिइसकेको हुँदा नयाँ बिरामीले उपचार अस्पतालमा भर्ना हुनको लागि कि त बिरामी नै मर्नुपर्ने कि त निको हुनुपर्ने बाहेकको विकल्प नै नरहेको उनले बताए। ‘त्यति टाढाबाट बिरामी ल्याउन बेड खाली छ भनियो भने आधा घन्टामा नजिकका तीन एम्बुलेन्स बेड ढुकेर अस्पतालको गेटमा पहिल्यै हुन्छन्। कसरी खाली छ भन्नु ,अन्धाधुन्ध ल्याउन भने पनि बाटोमै बिचल्ली वा आएर अलपत्र,’ डा अधिकारीले फेसबुकमा लेखेका छन्।
अस्पतालमा अक्सिजनको माग पनि छ गुना बढेकोले अक्सिजन पुर्याउनै मुस्किल हुने गरेको उनको भनाइ छ। ‘अक्सिजनको माग पहिलाभन्दा छ गुना बढ्यो तर पाउने स्रोत उही छ,’ उनले भने। कतिसम्म भने एउटै परिवारमा सबै जना संक्रमित हुँदा एकजना आइसियूमा, एकजना एचडियूमा, एकजना जनरल बेडमा र अर्को एक जना होम आइसोलेसनमै अक्सिजनको सहारामा बस्नुपरेको छ। ‘घरको एक सदस्यको मृत्यु भयो भने अर्को त्यही रोगले भर्ना भएका सदस्यलाई कसरी भन्नु ? दर्दनाक पीडा छ,’ उनले भने। संक्रमितले आफू संक्रमित भएर पनि अरुलाई नभन्ने समस्याले पनि भित्रभित्रै फैलिँदै गएको उनको भनाइ छ। अवस्था झन्झन् जटिल बन्दै गएकोले अझै तीन हप्तासम्म संक्रमण लम्बिन सक्ने उनले अनुमान लगाएका छन्।
समुदायभित्र चरम समस्याको रुपमा गाँजिदै गएकोले यसको समाधानतर्फ सबैजना सचेत हुन जरुरी रहेको उनले बताए।
समाधानका लागि डा अधिकारीले बुँदागतरुपमा सुझावसमेत दिएका छन्ः
१, पिसिआर रिपोर्टमा संक्रमण पुष्टि हुनासाथ रिपोर्टसँगै होम आइसोलेसन र नजिकको स्वास्थकर्मी र डाक्टरको निगरानीमा बस्ने, संक्रमणमुक्त नभएसम्म चिकित्सकको सम्पर्कमा निरन्तर रहने र त्यसको व्यवस्था सम्बन्धित स्थानीय पालिकाले गर्ने,
२, पालिकाअन्तर्गतका स्वास्थ्यसम्बन्धी स्थायी संरचनामा अक्सिजनसहितको प्राविधिक सेवा थप गरी पालिकास्तरीय सामान्यदेखि मध्यम खालका बिरामी राख्ने आइसोलेसन केन्द्र बनाइहाल्ने, त्यहाँ गम्भीर भए ठूला अस्पतालसँग समन्वय गरेर थप उपचार गराउने,
३, तत्काल कोभिड उपचार गर्ने अस्पतालहरुको एक/एक घन्टामा जानकारी लिने आधुनिक व्यवस्था मिलाउने र प्रहरीको १०० नम्बर जस्तै एउटा नम्बर राखेर कल सेन्टरमार्फत निगरानी गर्ने व्यवस्था मिलाउने,
४, अस्पतालको अधिकतम क्षमतामा भएका भेन्टिलेटर, एचएफएनसी, अक्सिजन सिलिन्डर र आवस्यक्तासहितको स्वेतपत्र जारी गरी त्यसको व्यवस्थापन र समन्वय जिल्ला प्रशासन कार्यालयले गर्ने,
५, हरेक हप्तामा मृत्यु भएकाहरुको कारणसहितको विश्लेषण गर्ने,
६, राम्रो हुँदै गएर अक्सिजन लाउन नपरे पनि १० दिनमा पिसिआर पर्खेका वा दोहोर्याएर पिसिआर गर्दा फेरी पोजेटिभ आएर घर जान नमान्ने लगायतलाई वैकल्पिक केन्द्रमा राख्ने, त्यसो गर्दा अस्पतालको बेड छिटो खाली हुनमा सघाउ पुग्छ।
७, स्वास्थ्यकर्मीहरुलाई हतोत्साही र मानमर्दन हुने काम कतै बाट हुन नदिने, जोखिम भत्तालगायत बिमासहितको राहत प्याकेजको व्यवस्था गर्ने,