चितवन । भरतपुर महानगरपालिका वडा नं १० सिनर्जी चोकस्थित बिहीबार शुष्मा गुरूङको घरमा आफूलाई सिआइडी बताउने युवाहरु कोठाभित्र प्रवेश गरी चाँदीको बाला र नगद चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
चोरहरुले चाँदीको बाला १ थान र ४६ हजार रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रवक्ता प्रनाउ सरोज गिरीका अनुसार चोरहरुले २३ गते आफूलाई सिआइडी बताएर चोरी गरी फरार रहेकोमा प्रहरीले टोलीले सो समूहलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नेमा गोरखा घर भई भरतपुर महानगर ११ बस्ने २२ वर्षीय विमल गुरूङ, सोही ठाउँ बस्ने २५ वर्षीय सागर कुमाल, २० वर्षीय समीर कुमाल, २१ वर्षीय सन्दिप गुरूङ, भरतपुर १० का २२ वर्षीय निर्दोष थापा र बाग्लुङको जैमिनी नगरपालिका वडा नं ८ घर भई भरतपुर ११ बस्ने २४ वर्षीय जीवन पौडेल रहेका छन् ।