चितवन । देश अहिले दोस्रो लहरको कोरोनाको चपेटामा छ । कोरोनाको पहिलो लहरपछि जीवनयापन विस्तारै सहज हुँदै गर्दा दोस्रो लहरसँगै अवस्था जटिल बनेको छ । संक्रमितको संख्या र मृत्युदर तीव्र रुपमा बढ्दै गएको छ ।
संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञासहितका उपायहरु अवलम्बन गरिएको छ । यसले सबैलाई आक्रान्त पारेको छ । त्यसमा पनि दैनिक ज्यालादारी गरेर गुजारा गर्नेलाई थप पीडा दिएको छ ।
बुधबार अपराह्न चितवन, नारायणगढको लायन्सचोकस्थित नहरको पुलमाथि ध्रुव कुँवर भेटिए । भरतपुर महानगरपालिकाका आँपटारी सुकुम्वासी बस्तीमा घर बताउने उनले निषेधाज्ञापछि ठेलागाडा चलाउने मजदुरी छाडेर प्लास्टिक टिप्ने काम थालेको बताए ।
“ठेला थियो, काम नपाएको एक साता भयो । अहिले प्लास्टिक टिप्न हिँडेको प्लास्टिक नै भेटिँदैन,” केही प्लास्टिक संकलन गरेको बोरा देखाउँदै उनले भने । निषेधाज्ञापछि राम्रोसँग खान नपाएको उनी बताउँछन् ।
बुढ्यौली चाउरी परेको अनुहार, सेतै फुलेको कपालका उनले काम नहुँदा बिहान–बेलुकाको छाक टार्न मुस्किल भएको सुनाए । परिवारले समेत हेला र तिरस्कार गरेको उनको भनाइ छ ।
निषेधाज्ञापछि कयौँको रोजगारी गुमेको छ । पेट भोकै हुन थालेको छ । बुधबार अपराह्न ४ बजेतिर नारायणी नदी किनारको चौतारोमा सुतिरहेको अवस्थामा करिब ४५ वर्षीया महिला भेटिइन् । “नानी नानी भन्छन् सबैले, थरचाहिँ मेरो मगर हो,” उनले भनिन् ।
उनका अनुसार झन्डै ६ वर्षअघि सिन्धुपाल्चोकको चौताराबाट चितवन आइपुगेकी रहिछन् । “भुइँचालोले घर पनि लग्यो । श्रीमान्ले अर्की श्रीमती ल्यायो, मलाई घरबाट निकालिदयो,” उनले सुनाइन् । आफ्नो कुनै सन्तान नभएको र बाबु–आमाको पनि मृत्यु भइसकेको उनले बताइन् ।
निषेधाज्ञापछि उनी बिचल्ली परेकी छन् । उनी भन्छिन्, “पारस बसपार्कनिर होटेलमा भाँडा माझ्थे । होटेल बन्द भएपछि साहु पनि घर गयो । मलाई पनि पठाइदियो ।” आफूसँग पैसा नभएको र भरतपुर अस्पतालले दिने गरेको एक छाक खानाको भरमा भोक टारेको उनको भनाइ छ ।
१३ वर्षको उमेरमा तनहुँबाट कामको खोजीमा नारायणगढ आएका दीपक गुरुङले यहाँ ३४ वर्ष बिताइसके । नारायणगढको पोखरा बसपार्कनजिकै ढुवानीका सवारीमा सामान लोड–अनलोड गर्ने काम गर्दै आएका छन् ।
गुरुङ लीलाचोकस्थित काठको घुम्तीमा चार–पाँचजना साथीसँग बस्दा रहेछन् । “म सानैमा चितवन आएको हो, अहिले म अरु लेवर साथीहरुसँगै घुम्तीमा बस्छु,” उनले भने ।
अविवाहित उनले एक्लो पेट भर्न पनि सकस रहेको सुनाए । उनले काम नपाएको पनि एक साता भइसकेछ । “काम पाए पनि जे पनि गर्थे नि, के गर्ने पैसा पनि छैन । भोक लाग्छ । जे पाउँछ, त्यही खाएको छु,” उनले भने ।