चितवन । चितवनमा मंगलबार २३३ जना नयाँ संक्रमित थपिएका छन्। २४ घण्टामा २३३ जना थपिएपछि चितवनमा कोरोना संक्रमितको कुल संख्या आठ हजार ४४५ जना पुगेको छ। नयाँ संक्रमितको संख्या नै दैनिक एक सयभन्दा माथि रहेपछि चितवनमा सक्रिय संक्रमितको संख्या पनि एक हजार ४०४ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। मंगलबार संक्रमण देखिएका मध्ये भरतपुर महानगरपालिकाका मात्रै १८८ जना रहेका स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले बताइन्। अन्य संक्रमितमा खैरहनीका ९, माडीका ४, रत्ननगरका २१, राप्तीका तीन र कालिकाका ८ जना छन्।
मंगलबार चितवनका अस्पतालमा २१६ जनाको उपचार भइरहेको छ। तीमध्ये भेन्टिलेटरमा १२ जना, आइसियूमा ५२ जना, एचडियूमा ४१ जना र जनरल वार्डमा ११२ जना उपचाररत रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। चितवनमा भरतपुर अस्पतालसँगै चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजले कोरोना संक्रमितको उपचार गराउँदै आएको छ।
तीनवटै अस्पतालको छुट्टाछुट्टै तथ्याङ्क हेर्दा भरतपुर अस्पतालमा सबैभन्दा बढी अर्थात् ९६ जना संक्रमितको उपचार भइरहेको छ। त्यसमा पनि १० जना आइसियूमा छन् भने १९ जना एचडियूमा छन्। जनरल वार्डमा भने ६७ जनाको उपचार भइरहेको छ। चितवन मेडिकल कलेजमा पनि ९ जना भेन्टिलेटरमा, २५ जना आइसियूमा र तीन जना एचडियूमा छन् भने ४४ जना जनरल वार्डमा छन्।
यस्तै पुरानो मेडिकल कलेजमा पनि ३९ जनाको उपचार हुँदै गर्दा तीन जना भेन्टिलेटरमा र १७ जना आइसियूमा छन् भने १९ जना एचडियूमा उपचाररत रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। उता वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि एक जना संक्रमितको उपचार भइरहेको छ।