चितवन । दोस्रो लहरको कोभिड–१९ को महामारीका कारण कोभिडबाहेकका बिरामीहरु प्रभावित भएका छन् । महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा र अस्पतालहरुले ओपिडी सेवा बन्द गरेपछि ननकोभिडका बिरामीहरु उपचार लिनबाट वञ्चित भएका हुन् ।
जिल्लामा निषेधाज्ञा लगाएपछि क्यान्सर अस्पताल आउने ५० प्रतिशत बिरामी घटेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले जनाएको छ । यसअघि दैनिक आठ सय बिरामीले सेवा लिने गर्थे । अहिले दैनिक करिब चार सय बिरामीले मात्रै उपचार गराएको अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम बताउँछन् ।
‘निषेधाज्ञाका कारण गाडीहरु नचल्दा बिरामीको चाप घटेको छ’, उनले भने, ‘बाहिरी जिल्लाबाट आउने क्यान्सरका बिरामी आउन सकिरहेका छैनन् । जो बिरामी आएका छन् ती सबैको उपचार गरिरहेका छौँ ।’ केमो लगाउने, अप्रेसन गर्नेलगायतका फलोअपमा आउने बिरामीहरु यतिबेला बढी प्रभावित भएको डा. गौतमले बताए ।
भरतपुर अस्पतालमा कोभिडका बिरामी बढेपछि कोभिडबाहेकका दीर्घकालीन उपचार गर्नुपर्ने बिरामीहरुले दुःख पाएको अस्पतालका वरिष्ठ हाडजोर्नी तथा मेरूदण्ड रोग विशेषज्ञ प्राडा कृष्णप्रसाद पौडेल बताउँछन् । अस्पतालमा अहिले जोर्नीमा राखिएको रड र प्लेट निकाल्नुपर्नेलगायत सामान्य उपचारहरु नभएको उनले बताए ।
‘अरु रोगका बिरामीले दुःख पाउने भइहाले नि, हाडजोर्नी र सर्जरी वार्ड खाली गरेर कोभिड वार्ड बनाइएको छ’, उनी भन्छन्, ‘अहिले नगरे पनि हुने अप्रेसनहरु स्थगित भएका छन् ।’ यसअघि हाडजोर्नीको ओपिडी सेवा लिन दैनिक डेढ सयदेखि दुई सय जनासम्म बिरामी अस्पताल आउने गरेको उनी बताउँछन् । ‘इमर्जेन्सी अप्रेसन भने रोकिएको छैन’, उनले भने, ‘हाडजोर्नीका केही बिरामी अहिले इमर्जेन्सीमा आइरहेका छन् ।’
यस्तै, कोरोनाको सङ्क्रमण बढेपछि दाँत सुन्निने र दुख्ने समस्या भएका बिरामीलाई मात्रै आकस्मिक कक्षबाट सेवा दिने गरिएको भरतपुर अस्पतालका दन्तरोग विशेषज्ञ डा. अजय न्यौपानेले बताए । ‘गाला सुन्निने, दुख्ने भयो, ज्वरो आयो भने त्यस्ता बिरामीलाई हेर्छौं । दाँतको आरसिटी गर्ने, क्राउन लगाउने, दाँत भर्नेजस्ता सेवाहरु अहिले बन्द भएको छ’, उनले भने । निषेधाज्ञा लागू हुनुअघि दैनिक ६० भन्दा बढी दाँतका बिरामीले सेवा लिने गरेका थिए । अहिले ती सबै बिरामीहरु घरमै बस्न बाध्य भएका छन् ।
‘जनशक्ति र भौतिक पूर्वाधार कम भएको हाम्रोजस्तो देशमा बिरामीको व्यवस्थापन गर्न गाह्रो छ’, उनी भन्छन्, ‘पहिलो चरणको लकडाउन खुकुलो भएपछि पनि बिरामीको चाप अत्यधिक बढेको थियो, अहिले पनि त्यस्तै हुन सक्छ ।’
अस्पतालमा मुटुरोगको उपचार गराउन आउने बिरामीको संख्या पनि कम भएको मुटुरोग विशेषज्ञ डा. शंकर लौडारीले बताए । दैनिक २० जनासम्म बिरामी आउने गरेकोमा निषेधाज्ञापछि दैनिक बढीमा पाँच जनामात्रै आएको उनले बताए । ‘कुनै गम्भीर खालको समस्या छैन भने सकेसम्म औषधि खाएर घरमै बस्न भनेका छौँ’, उनले भने, ‘उमेर अल्लि बढी भएका मुटुरोगीलाई कोभिडले समात्यो भने गाह्रो हुन्छ, उहाँहरु अस्पताल आइहाल्नुपर्छ ।’
निषेधाज्ञापछि मिर्गौलाका बिरामीको संख्यामा आधाभन्दा बढीले कमी आएको मिर्गौला रोग विशेषज्ञ डा. अरूण सेढाईं बताउँछन् । ‘इमर्जेन्सी छ भने त जस्तो पनि अप्रेसन गर्नुप¥यो । हर्निया वा मिर्गौलाको पत्थरीको पनि तत्काल अप्रेसन नगर्नुस् भन्ने सल्लाह दिएका छौँ’, उनले भने, ‘सामान्य खालका अप्रेसनहरु भने प्रभावित नै भएका छन् ।’
चितवन मेडिकल कलेजमा दैनिक ७० जना मिर्गौलाका बिरामीको नियमित डायलाइसिस भइरहेको उनले बताए । कोभिड सङ्क्रमित २ जना मिर्गौलाका बिरामीले पनि नियमित डायलाइसिस गरिरहेको उनले बताए ।इचितवन पोस्टबाट