चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले चितवनमा कोरोना संक्रमण वृद्धि भएको जनाउँदै वैशाख १५ गतेदेखि पार्टी प्यालेस तथा होटलहरु बन्द गर्न निर्देशन दिएको छ ।
कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथाम गर्न विवाह तथा व्रतबन्धजस्ता कार्यक्रमका लागि पार्टी प्यालेस तथा होटलहरु प्रयोग गर्नुपर्ने भए पूर्वअनुमति लिई २५ जनाभन्दा बढी नबढ्ने गरी कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिएको जनाउँदै केही दिनयता आयोजकले पूर्वस्वीकृति लिई वा नलिई तोकिएकोभन्दा अत्यधिक बढी संख्यामा मानिसहरु भेला गराई कार्यक्रम गर्ने गरेकोले वैशाख १५ गतेदेखि पार्टी प्यालेस सञ्चालनमा रोक लगाइएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
कोभिड–१९ को संक्रमण दिनानुदिन बढिरहेकोले मापदण्डविपरीत पार्टी प्यालेस सञ्चालन हुँदा भीडभाडका गतिविधि पनि बढ्ने भएकाले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै वैशाख १५ गतेदेखि अर्को सूचना जारी नभएसम्म पार्टी प्यालेस सञ्चालनमा रोक लगाइएको हो ।
प्रशासनको उक्त सूचना अवज्ञा गरी पार्टी प्यालेस÷होटल सञ्चालन गरिए सम्बन्धित पार्टी प्यालेस वा होटल नै जिम्मेवार हुने र कसुरको आधारमा संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही हुने सूचनामा भनिएको छ ।