चितवन । पुर्बी चितवनको रत्ननगर ११ मा रहेको चेपाङ संरक्षण केन्द्रमा ‘चेपाङ संग्रहालय’ निर्माण गरिएको छ। सीमान्तकृत चेपाङ समुदायको जन्मदेखि मृत्यु संस्कारसम्म प्रयोगमा आउने मौलिक सामग्री लोप हुने अवस्थामा पुगेको हुँदा त्यसको संरक्षण गर्ने उद्देश्यले संग्रहालय स्थापना गरिएको केन्द्रका अध्यक्ष केपीकिरण शर्माले जानकारी दिए। संग्रहालयको शनिबार बागमती प्रदेश सभा सदस्य कृष्ण खनालले उद्घाटन गरे।
केन्द्रका अध्यक्ष शर्माले केन्द्रको स्थापनाकालदेखि नै चेपाङ संग्रहालयको लागि चाहिने आवश्यक सामग्री जु्टाउँदै आएका थिए। ‘म चेपाङ गाउँ डुल्दा बोकेर ल्याएको सामान पूरा भएपछि यसलाई संरक्षण गर्न छुट्टै घर बनाएर राख्ने प्रयास गरेको छु,’ उनले भने, ‘यसले गैरचेपाङ समुदायलाई पनि चिनाउनेछ।’
चेपाङले प्रयोग गर्ने ढिकी, जाँताेदेखि माछा मार्ने ढडिया, हलो, जुवा, नाङ्लो, डोको, थुम्से, ठेकी, ढ्याङ्ग्रोलगायतका सामग्री राखिएका छन्। ‘मैले यो दस वर्षको दौरानमा यी चिजहरु समेट्न सकेँ,’ उनले भने, ‘चेपाङ बालबालिकाको संरक्षण मात्रै मेरो उद्देश्य होइन, चेपाङ समुदायको पहिचान दिलाउनु पनि मेरो कर्तव्य हो।’
उक्त संग्रहालयको उद्घाटन गर्दै प्रदेश सभा सदस्य खनालले सीमान्तकृत चेपाङ समुदायको विकास र प्रवर्द्वनमा लागेर समाजमा नयाँ रेकर्ड कायम गरेको बताए। केन्द्रको लागि प्रदेश सभा र व्यक्तिगत हिसाबबाट जुनसुकै समय सहयोग दिलाउन प्रयासरत रहेको उनले बताए।
पहिले चेपाङ छात्रावासभित्रै रहेको संग्रहालयलाई शनिबारबाट केन्द्र परिसरभित्रै बनाइएको चेपाङ जातिकै घरमा सारिएका छन्। कार्यक्रममा सामाजिक अभियन्ता मुरलीप्रसाद गजुरेल, ज्ञानेन्द्रराज पाण्डेलगायतको पनि उपस्थिति थियो।