काठमाडौँ। नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँगको भेटमा पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा ठोस् प्रगति हुन नसकेको बताएका छन् ।
होटल मेरियटमा बिहीबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटपछि संक्षिप्त कुराकानी गर्दै नेपालले पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा ठोस प्रगति हुन नसकेको बताएका हुन् । ‘बैठक यथास्थितिमै भयो । प्रगति केही भएको छैन,’ उनले भने , ‘विवाद समाधान गर्ने विषयमा कुराकानी अघि बढ्न सकेन ।’
उनका अनुसार प्रधानमन्त्री ओली र आफूबीच फेरि छलफल गर्ने कुराकानी भएको छ । पार्टीभित्र उत्पन्न विवाद समाधान गर्ने विषयमा प्रधानमन्त्री ओली र नेपालबीच बुधबार साँझ पनि मेरियट होटलमै छलफल भएको थियो । २३ फागुनमा सर्वोच्च अदालतको फैसलासँगै एमाले ब्युँतिएपछि पार्टीभित्रको विवाद चर्किएको छ ।