चितवन । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले पशुपन्छीको कल्याणमा लाग्न किसानहरुलाइ आग्रह गरेको छ । विश्व पशुपन्छी दिवसको अवसरमा कार्यपत्र प्रस्तुत गर्दै बरिष्ठ पशु अधिकृत डा. दयाराम चापागाईंले पशुपन्छीको हित बेगर मुनाफा कल्पना गर्न नसकिनेमा जोड दिए ।
‘उनीहरुले पनि आरामदायी जिउन पाउनुपर्छ’, उनले भने, ‘खोर, गोठ, क्लोज हाउस सुविधासम्पन्न बनाउनुपर्छ।’ उनले पशुपन्छीको स्वास्थ्यमा खेलवाड गर्दा कैयन रोगको प्रकोप बढेकाले उपचारमा ध्यान दिन आग्रह गरे । ‘पशुपन्छी बिरामीहुदा बध होइन, उपचार गर्नुपर्छ’, उनले भने, ‘पशु स्वास्थ नभइ मानव स्वस्थ्य हुन सक्दैनन् ।’ रोगबाट जोगाउन सरसफाइ, बायो सेक्युरिटी र भ्याक्सिन र बेलाबखत परीक्षण गर्न सुझाए ।
भोक, प्यास मेटाउन पाउनुपर्ने, आरामदायी जिउन पाउनुपर्ने, रोगबाट बच्न, पाउनुपर्ने, डर त्रास र तनावमुक्त रहन पाउने लगायतका स्वतन्त्रता कार्यान्वयनमा किसानको भुमिका महत्त्वपूर्ण रहेको बताए ।
कार्यक्रममा दुग्ध उत्पादक सहकारीका केन्द्रीय सदस्य भागीरथ तिमिल्सिना, जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, अन्नपूर्ण दुग्ध सहकारी अध्यक्ष ऋषिराम चापागाईं लगायतले मन्तव्य राखेका थिए ।

