काठमाडौं । अलराउन्डर करण केसीको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले मलेसियाललाई २१८ रनको विशाल लक्ष्य दिएको छ ।
त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत बिहीबार अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१७ रन बनाएको हो । टी–ट्वान्टी अन्तर्राष्ट्रियमा यो नेपालको दोस्रो उच्च स्कोर हो ।
नेपालका लागि करण केसीले १३ बलमा सात छक्काको मद्दतमा ४५ रनको विस्फोटक इनिङ खेले । यस्तै, आसिफ सेखले ३२ बलमा ४२ रन बनाए । कुशल भुर्तेलले १२ बलमा १६, ज्ञानेन्द्र मल्लले २५ बलमा ४१ रनको योगदान गरे । दीपेन्द्रसिंह ऐरीले १७ बलमा ३३ रन जोड्दा कुशल मल्लले १९ र विनोद भण्डारीले ८ रन बनाए ।
नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक सिरिजमा मलेसियाले एक खेल पनि जित्न सकेको छैन । नेपाल र नेदरल्यान्ड्स फाइनलमा पुगिसकेका छन् ।