काठमाडाैं। पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरूप नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दोस्रो दिनको छलफल शुरू भएको छ । लामो समयको संवादहीनता तोड्दै बुधवार भेटघाट भएकै स्थान होटल मेरियटमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच बिहीवार पनि भेटवार्ता शुरू भएको हो । दुवै नेता दिउँसो करीब सवा २ बजे होटल गरेका हुन् ।
बुधवारको छलफललाई ‘आइसब्रेक’को संज्ञा दिएका एमालेका दोस्रो तहका नेताहरू बिहीवारको छलफलले कुनै निकास दिने विश्वासमा छन् ।
ओलीसँग भेट्नुअघि नेता नेपालले आफूपक्षीय नेताहरूसँग छलफल गरेका थिए । त्यसक्रममा नेता नेपालले पार्टी एकताअघिकै स्थितिमा फर्कनुपर्ने आफ्नो बटमलाइन ओलीसमक्ष राख्ने बताएका थिए ।
कर्णाली प्रदेशमा एमाले सांसदले फ्लोर क्रश गरेर माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भोट हालेपछि एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टीमा गुटगत क्रियाकलाप गरेको भन्दै अध्यक्ष ओलीले नेपाल पक्षका २७ जना सांसदलाई सोधेको तीन दिने स्पष्टीकरणको म्याद बिहीवार सकिँदैछ ।सांसदहरूले बिहीवार स्पष्टीकरण बुझाएका छन् । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुक्रवारका लागि बोलाइएको छ ।