नवलपरासी। नवलपरासीको सुनवल नगरपालिका–१३ सुर्यवस्तीस्थित पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो भएको कार दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । कारमा सहोदर बाबुछोरा रहेका थिए।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश–३–०१–०२३ च ५०७५ नम्बरको कार आज दिउँसो अन्दाजी १३:०० बजे अनियन्त्रित भएपछि पुलबाट करिब १०–१२ मिटर तल रहेको खोलामा खसेको प्रहरीले जनाएको छ ।दुर्घटनामा परी अर्घाखाँची पाणिनी गाउँपालिका–६ माझा गाउँका ८० वर्षीय मणिराम पौडेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकका छोरा कार चालक ४३ वर्षीय हरिशचन्द्र पौडेल भने घाइते भएका छन् । उनको मुख तथा आँखीभौँमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने स्थानीयले बताएका छन् ।

