चितवन । मौरीपालक किसानहरुले नेपाली मह उत्पादन हुने सिजनमा विदेशी मह आयात नगर्न सरकारसँग आग्रह गरेका छन् । नेपाली मह उत्पादन हुने बेलामा डाबर नेपाल र पतञ्जलि आयुर्वेद प्रालिलाई १६५ मेट्रिक टन तोरीबाट पारेको मह आयात गर्न दिने सरकारको निर्णय गलत भएको किसानहरुले बताएका छन् । मौरीका घारहरु चरन क्षेत्रमा पु¥याएर मह उत्पादन थालिसकेको अवस्थामा यस्तो निर्णय हुनु दुःखद भएको किसानको गुनासो छ । किसानहरुले सिजनको बेला आयात नरोकिए कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।
मौरीपालक किसानहरुले सोमबार चितवनका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाए । गत असोज २७ गते कृषिमन्त्री मदनप्रसाद परियारको अध्यक्षतामा भएको बैठकमा महको आयात–निर्यातसम्बन्धमा सरोकारवालाहरुसँग छलफल भएको थियो ।
उक्त बैठकले डाबर नेपालले १० टन नेपाली तोरीको मह खरिद गर्ने र त्यसबापत चालू आर्थिक वर्ष २०८२÷०८३ को दोस्रो त्रैमासमा डाबर नेपाललाई १२५ मेट्रिक टन र पतञ्जलिलाई ४० मेट्रिक टन मह आयात गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले अनुमति दिने निर्णय गरेको थियो ।
नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्ष शिव पौडेलले विदेशी मह आयात गर्न अनुमति दिने निर्णय सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाइएको बताए । ‘किसानले गरेको गुनासो सम्बोधन नभए हामी मौरी र मह फाल्ने तथा उडाउने गरी आन्दोलित हुन बाध्य हुने छौँ । यस्तो परिवेश बन्ने छैन भन्नेमा हामी पूर्ण विश्वस्त छौँ’, उनले भने, ‘डाबरले किन्ने १० टन मह भनेको तीन जना किसानले उत्पादन गर्ने महमात्रै हो ।’ केही बिचौलियाको खेलमा कृषिमन्त्री फसेर किसानमारा निर्णय भएको उनले आशङ्का व्यक्त गरे ।
मौरीपालक किसान विष्णु भुसालले स्वदेशी किसानसँग मह हुँदाहुँदै विदेशी मह आयात गर्न नहुने बताए । ‘जब स्वदेशी किसानहरुसँग मह छँदै छ भने किन बाहिरबाट ल्याउने ?’, उनले प्रश्न गर्दै भने, ‘नेपाली मह नेपालमै खपत भइदिए हुन्थ्यो भन्ने हाम्रो कुरा हो ।’
मौरी चरिचरनका लागि बाहिरी जिल्ला लैजाँदा स्थानीय सामुदायिक वनलगायत विभिन्न व्यक्ति र समूहलाई रकम दिनुपर्ने समस्या किसानहरुले भोग्ने गरेका छन् । भुसालले विगत २५ वर्षदेखि व्यावसायिकरुपमा मौरीपालन गरी मह उत्पादन तथा बिक्रीवितरण गर्दै आएका छन् । उनले मौरी चराउन मौरीका घार दाङ लगेका छन् ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले किसानहरुले बुझाएको ज्ञापन पत्र सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता व्यक्त गरे । बहुराष्ट्रिय कम्पनीमार्फत विदेशी मह आयात गरेर स्वदेशी किसानलाई पलायन गर्न खोज्नु गलत भएको किसानहरुले गुनासो गरे ।
नेपालमा करिब १२ हजार जना व्यावसायिक मौरीपालक किसानहरु रहेको अनुमान छ । त्यस्तै, वार्षिक १५ सय मेट्रिक टन तोरीको मह, दुई हजार मेट्रिक टन चिउरीको मह र ५०० मेट्रिक टन अन्य मह उत्पादन हुने गरेको किसान महासंघले बताएको छ ।

