काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीमा फुट आउँछ भनेर कसैले पनि कल्पना नगरे हुने बताएका छन्। पार्टीको महाधिवेशनको विषयलाई लिएर मतभेद चर्किरहेका बेला महामन्त्री शर्माले शनिबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीभित्र फरक मत विगत, वर्तमान र भविष्यमा पनि रहने तर त्यसैका आधारमा फुट आउँछ भन्न नमिल्ने तर्क गरेका हुन् ।
शर्माले महाधिवेशन निर्वाचनअघि गर्ने कि नगर्ने भन्ने विवादको टुङ्गो लगाउन महासमिति सदस्यहरूको सुझावलाई निर्णयको आधार बनाउन सकिने प्रस्ताव गरेका छन्। महाधिवेशन प्रतिनिधि वा केन्द्रीय समितिको सुझावलाई नमान्ने अवस्था आए महासमितिको सुझावको आधारमा मिति टुङ्गो लगाउन उपयुक्त हुने उनको भनाइ छ।
उनले भने, ‘जति गहन छलफल भएर निष्कर्षमा पुगिन्छ नि। जस्तो मोही पार्न पनि के हुन्छ भने हल्का फिट्दा त हल्का पिउने मोही हुन्छ। तर, राम्रोसँग फिटेपछि घिउ पनि राम्रोसँग निस्कन्छ। नेपाली कांग्रेस एउटा परिपक्व, पाको, जिम्मेवार दल हो।’
उनले पार्टीभित्र फरक फरक विचार हुनुलाई सौन्दर्यको रूपमा हेर्न आग्रह गर्दै भने, ‘नेपाली कांग्रेस फुट्छ भनेर कसैले कल्पना नगरे हुन्छ। नेपाली काङ्ग्रेसभित्र फरक फरक मतहरू विगतमा पनि थिए। अहिले पनि छन्। भविष्यमा पनि रहन्छन्।’
शर्माले महाधिवेशनको मिति तोक्नका लागि केन्द्रीय समितिभित्र आएका चार विकल्पबारे प्रकाश पारेका छन्। जसमा मङ्सिरमा नै गर्ने (महामन्त्री गगन थापाले राखेको प्रस्ताव अनुसार), विशेष अधिवेशन (केन्द्रीय समितिले बोलाउने वा महाधिवेशन प्रतिनिधिहरूको ४० प्रतिशत मतको आधारमा गर्ने), पुस १६, १७, १८ र १९ गते गर्ने (बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर आएको ऐतिहासिक दिन) र मङ्सिर वा वैशाख कहिले गर्ने भनेर सहमति नजुटेमा डिजिटल भोटिङ सिस्टमबाट देश-विदेशमा रहेका महासमिति सदस्यहरूको राय लिन सकिने छन्।
महामन्त्री शर्माले पुस १६, १७, १८ र १९ गते बीपी कोइरालाले राष्ट्रिय मेलमिलाप नीतिको समय पारेर महाधिवेशन गर्दा हुने प्रस्तावमा आफूले जोड दिएको बताए । उनले महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षरलाई कसैले पनि अवमूल्यन गर्न नमिल्ने र त्यसलाई केन्द्रमा राखेर निर्णयमा पुग्नुपर्नेमा जोड दिए।

