चितवन । यातायात व्यवस्था सेवा कार्यालय चितवनको राजश्व संकलन ३ करोड भन्दा बढीले घटेको छ । चालु आर्थिक बर्ष ०७८, ०७९ को साउन महिना भन्दा भदौ महिनामा आम्दानी ३ करोड ११ लाख ८० हजार ६२६ रुपैयांँ रकमले कम संकलन भएको हो । साउन महिनामा कार्यालयले सबै शिर्षकमा गरी ७ करोड ४७ लाख ९५ हजार ९३० रुपैंया संकलन गरेको थियो भने भदौ महिनामा यो अनुपात घटेर ४करोड ३६ लाख १५ हजार ३०४ रुपैया मात्र संकलन गरेको छ । कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड , जरीवाना र जफत ,बेरुजु, सवारीसाधन कर र चालक अनुमति पत्र तथा सवारी किताव सम्बन्धी दस्तुरबाट आम्दानी गर्दै आएको छ ।
सबै भन्दा बढी आम्दानी सवारीसाधन करबाट
कार्यालयले सबैभन्दा बढी आम्दानी सवारी साधन कर शिर्षकबाट गर्दै आएको छ । जसअनुसार भदौ महिनामा यस शिर्षकबाट ३ करोड ७० लाख ५ हजार २९ रुपैया आम्दानी भएको छ । यस्तै चालक अनुमति पत्र एवं सवारी किताब सम्बन्धी दस्तुरबाट २१ लाख ५ हजार ४६५ रुपैया आम्दानी गरेको छ भने यातायात क्षेत्रको आम्दानीबाट ४५ लाख १५ लाख ४ हजार ८१० रुपैंया आम्दानी गरेको छ । बेरुजु शिर्षक र प्रशासनिक दण्ड जरीवानाबाट कुनै रकम संकलन भएको छैन ।
कार्यालयका प्रमुख सुवास उप्रेतीले भदौमा जिल्ला प्रशासन कार्यालयले कोरोना जोखिमका कारण बढी भीडभाड बढी हुने कार्यालय लगातार १० दिन बन्द गरेकोले यो कार्यालयको पनि राजश्व संकलनमा कमी आएको बताए । ‘भदौमा १० दिन बन्द हुांदा आम्दानी स्वतः एक तिहाईले नै घट्ने भयो । ’उप्रेतीले भने । कार्यालयमा असार मसान्त र चैत्र मसान्तमा अत्याधिक चाप हुनाले असारमा १० करोडको हाराहारीमा राजश्व संकलन भएको उनले जानकारी दिए । ‘असारमा भन्दा साउनमा राजश्व संकलन त केही कम हुन्छ उनले भने, नयांँ आर्थिक बर्षमा राजश्व तिर्ने सवारीधनीको चाप पनि उत्तिकै हुन्छ ।’ कार्यालयमा हाल सवारी अनुमतिपत्र वितरण बाहेक सबै काम हुने गर्दछ । यहाँ नयांँ सवारीसाधन दर्ता, नवीकरण, नामसारी, सहमति दर्ता लगायतका कामहरु हुने उप्रेतीले जानकारी दिए ।

