काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका दर अत्यधिक बढिरहेकोले अत्यन्त जरुरी नपरी घर बाहिर नस्किन अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हरेक चार दिनमा संक्रमण दर दोब्बर भएकोले अहिले रहेका स्वास्थ्य संरचनाले नै धान्न नसक्ने स्थिति आउनसक्ने बताए।
‘संक्रमण दर अत्यधिक बढेको छ। हाम्रो संरचनाले धान्नै नसक्ने गरी बिरामीको संख्या बढ्ने संकेत प्राप्त भइरहेको छ,’ उनले भने, ‘अत्यन्त जरूरी नपरी घरबाट बाहिर ननिस्कनुस्।’ मन्त्रालयले बुधबार आयोजना गरेको कोरोनाको प्रेस ब्रिफिङमा डा. गौतमले सभा, भेला, गोष्ठी, सेमिनार, जात्रा, बैठक नगर्न अनुरोध गरे।
‘कोरोना संक्रमण काठमाडौं लगायत ठूला सहरमा दिनदिनै बढ्दैछ,’ डा. गौतमले भने, ‘थाहा पाइपाइ भीडभाडमा जानु हुँदैन।’ पछिल्लो २४ घण्टामा मात्र २ हजार ३५१ जनामा संक्रमण देखिएको छ। जुन गत तिहारपछि एकैदिन देखिएको सर्वाधिक बढी संक्रमण हो।