चितवन । भरतपुर महानगरपालिका वडा नं–२ को कार्यालयले रात्रिकालीन बजार सुरू गर्ने भएको छ । स्थानीय उत्पादन तथा व्यवसायको प्रर्वद्धन गर्ने उद्देश्यले रात्रिकालीन बजार सुरू गर्न लागिएको हो ।
रात्रिकालीन बजार क्षेत्रपुरको नमस्ते चोकदेखि करिब पांँच सय मिटर उत्तरतर्फसम्म रहने छ । रात्रिकालिन बजार यही असार २७ देखि सुरू गर्न लागिएको हो । हरेक शुक्रबार बेलुका ६ः०० बजेदेखि १०ः०० बजेसम्म सञ्चालन हुनेछ ।
भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाटले वडामा रहेका स्थानीय तथा अर्गानिक उत्पादनलाई बजारीकरण गर्नका लागि रात्रिकालीन बजार सञ्चालन गर्न लागिएको जानकारी दिए । ‘आफ्नै घरमा उत्पादन भएका अर्गानिक वस्तु तथा अन्य उत्पादित वस्तुले सहजै बजार पाओस् भन्ने उद्देश्यले बजार सुरू गर्न लागिएको हो, अध्यक्ष रानाभाटले भने, यसले स्वरोजगारलाई प्रर्वद्धन गर्न पनि मद्दत पुग्छ ।’
रात्रिकालीन बजारमा स्थानीय तरकारी, फलफूल, घरमै बनाएको अचार, हस्तकलालगायत रेस्टुरेन्ट, कपडालगायतका स्टलहरु रहनेछन् । वडा नं–२ का स्थानीयले उत्पादन गरेका स्टल निःशुल्क उपलब्ध गराइने र अन्यको हकमा न्यूनतम शुल्क तोकिने उनले बताए । रात्रिकालीन बजार क्षेत्रभित्र सडकमा कुनै सवारीसाधन चलाउन नपाइने र सडकपेटीमा स्टलहरु राखिने व्यवस्था मिलाइएको छ ।
हालसम्म ५० वटाभन्दा बढी स्टल बुकिङ भइसकेको र अन्य व्यवसायी पनि आउनेक्रम रहेको उनको भनाइ छ । उक्त बजारमा स्वच्छ खानेपानी, शौचालयको सुविधा, पार्किङलगायत २४ सै घन्टा सिसिटिभीले निगरानी हुने अध्यक्ष रानाभाटको भनाइ छ ।
बजारमा व्यवसायीको लागि सहुलियत दरमा स्टल र उपभोक्ताले समेत गुणस्तरीय तथा सहुलियतरुपमा सामान खरिद गर्न पाउनेछन् । हाल यो बजार साताको एकदिन सञ्चालन भए पनि विस्तारै अन्य दिनमा पनि सञ्चालन गर्ने योजना वडाको रहेको छ ।



