चितवन । रत्ननगर नगरपालिकाको आयोजना एवम् रत्ननगर अर्गानिक संघको समन्वयमा सञ्चालित चारदिने प्राङ्गारिक खेती प्रविधि तथा प्राङ्गारिक उत्पादन प्रमाणीकरण तालिम सम्पन्न भएको छ ।
तालिमको समापन गर्दै नगरप्रमुख प्रलाद सापकोटाले नगरमा उत्पादित अधिकांश खेती बिषादीयुक्त रहेको र कीरा मार्ने नाममा किसानले अत्यधिक विषादी प्रयोग गर्ने गरेको पाइएकोले यसलाई निरुत्साहित गरी अर्गानिक खेतीतर्फ लाग्न सबैलाई आग्रह गरे ।
बिषादी प्रयोग गर्ने किसान र उपभोक्ता दुवै क्यान्सरजस्तो जटिल रोगबाट पीडित बन्दै गइरहेकाले नागरिकले आफ्नो करेसाबारीमा अर्गानिक खेती गरी स्वस्थ रहन अनुरोध गरे । रत्ननगर नगरपालिकाले अर्गानिक खेती गर्नेहरुलाई प्रोत्साहन गरिने बताउँदै सामूहिकरुपमा अर्गानिक खेती गर्ने किसानलाई मलबीउ र कृषिऔजारसमेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका प्रशिक्षक जिल्ला प्राङ्गारिक संघ चितवनका अध्यक्ष चन्द्रप्रसाद अधिकारीलाई प्रशंसापत्र र ३९ जना सहभागी प्रशिक्षार्थीहरुलाई तालिमको प्रमाणपत्र प्रदान गरिएको थियो ।
सो अवसरमा हरिप्रसाद अधिकारीद्वारा लिखित तथा रत्ननगर नगरपालिकाद्वारा प्रकाशित पुस्तक ‘अर्गानिक तथा अर्गानिकउन्मुख खेती’को विमोचन गरिएको थियो । पुस्तकका लेखक अधिकारीले अर्गानिक खेती गर्न कृषकलाई प्रेरित गर्न सो पुस्तक तयार गरिएको बताए ।
कार्यक्रममा कृषिविकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले प्राङ्गारिक एवम् अर्गानिक खेती गर्ने किसानका लागि पुस्तक अत्यन्त उपयोगी रहेको चर्चा गरे । कार्यक्रममा कृषि शाखा प्रमुख कृषि विज्ञ प्रवीन लामाले स्वागत मन्तव्य राखेको कार्यक्रममा रत्ननगर अर्गानिक संघका अध्यक्ष कपिलप्रसाद कट्टेलले मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै, रत्ननगर–१५ का वडाध्यक्ष आसिक तामाङले बिषादीयुक्त तरकारी र खानपिनका कारण क्यान्सर रोग बढ्दै गएकाले जनस्वास्थ्यको ख्याल गरी अर्गानिक खेतीतर्फ लाग्न आग्रह गरे । तालिम लिएका किसानले आफूले पाएको ज्ञान व्यवहारमा उतार्दै अर्गानिक खेतीतर्फ लाग्नसमेत उनले अनुरोध गरे ।
कार्यक्रमका अध्यक्ष आर्थिक विकास समितिका संयोजक एवम् रत्ननगर–१० का वडाध्यक्ष कलाधर पौडेलले पछिल्लोे समय गोबर मल बेचेर युरिया किन्न दौडधूप गर्ने किसानको संख्या अधिक रहेको बताउँदै सर्वप्रथम माटो सुधार गर्न आवश्यक रहेको बताए । अब पनि प्राङ्गारिक खेतीतर्फ नलाग्ने हो भने बिषादीका कारण मर्नेहरुको संख्या भयावह हुने उनको भनाइ थियो । उनले तीन तहको सरकारबीच समन्वय नहुँदा अनुदानका नाममा व्यापक दुरुपयोग हुने गरेको र भ्रष्टाचार बढिरहेको उनको भनाइ थियो ।


