चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले ट्राफिक कार्यालयको निरीक्षण गरेका छन् ।आज विहान एसपी अधिकारीले कार्यालयको निरीक्षण गर्दै ट्राफिक कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई सेवाग्राहीसंग गर्ने ब्यवहारमा सुधार गरी नागरिक मैत्री व्यवहार गर्न निर्देशन दिए ।
प्रहरी नागरिकको साथी भएकाले उनीहरुसँग सम्भय र शिष्ट भाषामा सेवा दिनुपर्नेमा जोड दिए । उनले भने ,‘शिष्ट भाषा तथा नम्र बोलीचालीको प्रयोग गर्ने, नियम विपरित चल्ने सवारी साधनलाई सम्झाई बुझाई गरेर मात्रै कारवाही गर्नुपर्छ ।’
गल्ती गर्नेलाई कारवाही मात्रै गर्दा त्यसले नकरात्मक सन्देश जाने र पुन: गल्ती दोहोरीने भन्दै उनले के कारण गल्ती भयो र कसरी सुधार गर्ने भन्ने समेत बुझाएर कारवाही गरे पुन: उक्त गल्ती नदोहोरिने उनको भनाई थियो ।
पछिल्लो समय चाडपर्वमा बढि नागरिकसँग घुलमिल हुनुपर्ने भएकाले पनि सभ्य र शिष्ट भाषा प्रयोग गर्न एसपी अधिकारीले अनुरोध गरे । त्यस्तै चाडपर्वमा हुने भीडका कारण बजार अस्तव्यस्त हुने हुँदा सवारी व्यवस्थापनमा विशेष ध्यान दिन उनले निर्देशन दिए ।

