चितवन । नारायणी नदी व्यवस्थापन आयोजनाले भरतपुरतर्फ २० किलोमिटर क्षेत्रमा तटबन्धनको काम सम्पन्न गरेको छ । नारायणी नदी पुलबाट दक्षिणतर्फको ३५ किलोमिटरमध्ये २० किमी सम्पन्न भएको र बाँकी १० किमीमा तटबन्धनको काम अन्तिमचरणमा रहेको आयोजनाले जनाएको छ । पाँच किलोमिटरका दुईवटा प्याकेजको ठेक्का सम्झौताको तयारी र एउटा प्याकेजको बोलपत्र आह्वान गरिएको कार्यालयका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जिनियर प्रकाश लम्सालले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसअघि जनताको तटबन्ध कार्यालयले १० किमी र नाम परिवर्तन भएसँगै यो आयोजनाले अरु काम गरेको हो । रु २५ करोडको लागतमा तीनवटा प्याकेजबाट काम गर्न लागिएको सूचना अधिकारी लम्सालले बताउनुभयो । उहाँले भन्नुभयो “अब तीनवटा प्याकेजको काम सुरु भएसँगै चितवनतर्फको नदी तटबन्धनको काम सकिन्छ । जनताको तबन्धन कार्यालयले १२ वर्षअघि सम्पन्न गरेको १० किलोमिटर नदी व्यवस्थापनलाई पुनः मर्मत गर्नुपर्ने अवस्था छ । यसमा पनि आवश्यक गर्छौं ।”
पहिले जालीमा ढुङ्गा हालेर तटबन्धनको काम गर्ने गरिएको थियो । पछिल्लो समय ठूला–ठूला ढुङ्गाको प्रयोग गरेर कङ्क्रिटवाल लगाउने गरिएको उहाँले लम्सालले जानकारी दिनुभयो । यसले ३० वर्ष सम्म सुरक्षित हुने भए पनि तारजालीमा हालिएको ढुङ्गाले १२ देखि १५ वर्षसम्म मात्र काम गर्ने अनुमान उहाँको भनाइ छ । काम भए पनि ती खण्डमा निर्माणको जिम्मेवारी लिएका ठेकेदार कम्पनीलाई बजेट अभावका कारण करिब रु ९० करोड भुक्तानी दिन बाँकी रहेको नारायणी नदी व्यवस्थापन आयोजनाले जनाएको छ । गत आर्थिक वर्षमा रु एक अर्ब १३ करोड ६४ लाखको दायित्व यसवर्ष दायित्व पूरा गरेकाले यस वर्षको तिर्नुपर्ने रकम थप जिम्मेवारीका रूपमा रहेको हो ।