काठमाडाैं। नेकपा एमालेले दलीय अनुशासन उल्लंघन गर्दै गुटगत क्रियाकलापमा लागेको आरोपमा केन्द्र र प्रदेशका ३२ सांसदलाई स्पष्टीकरण पत्र पठाउने तयारी गरेको छ । एमाले महाधिवेशन आयोजक कमिटीको सोमवार बसेको बैठकको निर्णयानुसार मंगलवार नै सांसदहरूलाई पत्र पठाउने तयारी भएको स्रोतले बतायो ।
गुटगत क्रियाकलापमा लागेको भन्दै ६ महिना निलम्बन गरिएका माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसहित प्रतिनिधि सभाका २७ र प्रकाश ज्वालासहित कर्णाली प्रदेश सभाका ५ सांसदलाई स्पष्टीकरण सोध्न लागिएको हो ।
कर्णालीमा दलीय ह्वीप उल्लंघन गर्दै फ्लोर क्रश गरेर अनुशासनहीन काम गरेको भन्दै सो कार्यमा संलग्न र निर्देशन दिने नेताहरूलाई दुईदिनको समय दिएर स्पष्टीकरण सोध्ने निर्णय महाधिवेशन आयोजक कमिटीले गरेको थियो । एमाले संसदीय बोर्डका एक सदस्यले पत्रहरू तयार गर्ने काम धमाधम चलिरहेको र विद्युतीय माध्यमबाट पठाउने तयारी भएको जानकारी दिए ।
चित्तबुझ्दो जवाफ नआए वैशाख १० गते बस्ने महाधिवेशन आयोजक कमिटी बैठकबाट निर्णय गरेर सांसद पद समेत निलम्बन गर्नेगरी कारवाही हुन सक्ने एमाले स्रोतले बतायो ।
मंगलवारको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशमा भएको फ्लोर क्रसको निर्णय अक्षम्य अपराध भएको भन्दै संलग्नमाथि दलीय अनुशासनको कारवाही गरिने बताएका थिए । गत शुक्रवार कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रश गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेका थिए ।