तनहुँ । आर्थिक अभावमा करिब साढे सात महिनादेखि ओछ्यानमा थलिएकी शिरमती गुरुङ अब आफैँ हिँडडुल गर्न सक्ने भएकी छिन् । आगोले पोलेको घाउ निको नभएपछि ओछा्यानमा थलिएकी शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरे घरेडीकी ५७ वर्षीया गुरुङको दुवै खुट्टा नचल्ने भएको थियो । वडाध्यक्ष मनराज गुरुङले उद्धार गरेर अस्पताल पु¥याएपछि उनी निको भएर घर फर्किएकी छन् ।
घाउ निको भएर खुट्टा चल्न थालेपछि उनी आफैँ हिँडडुल गर्न सक्ने भएको वडाध्यक्ष गुरुङले बताए । हरियोखर्क अस्पताल पोखरामा ३५ दिनको उपचारपछि शिरमतीलाई शुक्रबार डिस्चार्ज गरेर घर ल्याइएको उनले बताए । उनका अनुसार उपचारमा करिब दुई लाख रुपैयाँ खर्च भएको छ । दुई लाख ५० हजार रुपैयाँ शिरमतीको उपचारका लागी आर्थिक संकलन भएको वडाध्यक्ष गुरुङले जानकारी दिए । ‘बचत भएको ५० हजार रुपैयाँ पनि शिरमतीको परिवारलाई दिने हो’, उनले भने ।
२३ माघ २०७७ मा नुहाउन पानी तताउने क्रममा आगोले शिरमतीको शरीर जलेको थियो । श्रीमान् यामबहादुरका अनुसार शरीर जलेपछि पोखराको मेडिप्लस हस्पिटलमा १४ दिन उपचार गराइएको थियो । ज्यालामजदुरीको भरमा दैनिक गुजरा चलाउँदै आएका गुरुङले पैसा सकिएपछि घाउ नओभ्याउँदै अस्पतालबाट घर ल्याए । यामबहादुर भन्छन्, ‘ऋणधन गरेर उपचारमा दुई लाख रुपैयाँ खर्चिए । पैसा सकिएपछि घाउ निको नहुँदै घर फिर्ता ल्याउनुपर्यो’ उनले भने, ‘अरु पैसा जुटाउन सक्ने अवस्था नभएकाले घाउ निको नहुुँदै घरमा फर्काएँ ।’
वडाध्यक्षले अस्पताल पुर्याएर उपचार पाएपछि श्रीमती हिँड्न सक्ने भएको उनले बताए । ‘अलि अलि आफैँ हिँड्न सक्ने भएको छ । एक महिनापछि फेरि डाक्टर बोलाएको छ’, यामबहादुर भने । ओछ्यानमा थलिएको श्रीमती निको भएपछि खुसी लागेको उनको भनाइ छ । ‘उपचार होला, निको होला भन्ने सोच नै थिएन् । आफुसँग पैसा थिएन् । कहिल्यै उपचार गारउन सक्दिन होला भन्ने लाग्थ्यो’, उनले सुनाए ।
१४ दिनको उपचारपछि घरमा आएकी शिरमतीको साढे सात महिनासम्म आगोले पोलेको घाउ निको भएको थिएन । घाउसँगै कम्मरमुनिको भाग पनि चल्न छोड्यो । आर्थिक अभावकै कारण थला परेकी श्रीमतीलाई उपचार गर्न अस्पताल लैजान नसकेको यामबहादुर बताउँछन् । ३ भदौमा वडाध्यक्ष गुरुङले थलापरेकी शिरमतीलाई हरियोखर्क अस्पताल पोखरा पुर्याएका थिए ।

