अनामनगरस्थित भगिराज इङ्नामको निवासमा पुग्दा उनी विभिन्न मिडियालाई अन्तर्वार्ता दिन व्यस्त थिएँ । लामो सरकारी जीवनबाट सेवानिवृत्त भएपछि ऐतिहासिक दस्तावेज संकलनमा लागिपरेका इङ्नामले झन्डै सात वर्ष समय खर्च गरेर ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह (संवत् १७१९–२०२०)’ नामक पुस्तक निकाले । केही पत्रकारको सुझावका आधारमा मदन पुरस्कारका लागि पुस्तक दर्ता गराएका इङ्नामले बलिया प्रतिस्पर्धीलाई पछि पार्दै २०७७ को मदन पुरस्कार प्राप्त गर्न सफल भए । न्युज कारखानाकर्मीसँग इङ्नाम भन्छन्, ‘अलिकति पनि यो विश्वास थिएन कि नयाँ पुस्ताका लागि इतिहास बुझाउनुपर्छ भनेर लेखेको पुस्तकले मदन पुरस्कार नै प्राप्त गर्छ भनेर, तर मदन पुरस्कार निष्पक्ष रहेछ ।’
मदन पुरस्कार पाएको खबर कसरी पाउनुभयो ?
– तेह्रथुमको लालिगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङले एउटा आर्टिकल लेख्नुपर्यो, तस्बिर पठाइदिनुस्न भनेपछि म खोज्दै थिएँ । एकजना पत्रकार दाजुले फोन गरेर मदन पुरस्कार जित्नुभयो भन्नुभयो । सुरुमा त मैले पत्याइनँ । अनि उहाँले मदन पुरस्कार गुठीको प्रेस विज्ञप्ति पठाएपछि बल्ल कन्फर्म भएँ ।
विश्वास लागेको थियो ?
– पहिला त मदन पुरस्कार पाइन्छ भन्ने आशै पनि लागेको लागेको थिएन । तर उत्कृष्ट नौमा परें । त्यसपछि एउटा न एउटाले पाउने हो भन्ने भएपछि कतै पाइन्छ कि भन्ने लागेको थियो ।
मदन पुरस्कार घोषणा भएपछि तपाईसँग सम्पर्क भयो ?
– अहिलेसम्म (बिहान १०ः४५) सम्पर्क भएको छैन, कुनै आधिकारिक सम्पर्क सूत्रले पनि सम्पर्क गरेका छैनन् ।
गुठीका कसैलाई चिन्नुभएको छ ?
– मैले व्यक्तिगत रूपमा कसैलाई पनि चिनेको छैन । हिमाल पत्रिकाका एकजना पत्रकार सागरजीले बधाई दिन फोन गर्नुभएको थियो, उहाँ त गुठीको मान्छे होइन होला ।
भनेपछि न तपाईले चिन्नुभएको छ, न उहाँहरूले तपाईलाई चिन्नुभएको छ ? पुरस्कार त निष्पक्ष नै हुँदो रहेछ, हैन ?
– मैले त्यो अनुभूति गरें । मेरो त दोहोरो चिनजान नै छैन । मदन पुरस्कार साँच्चै निष्पक्ष रहेछ भन्ने मलाई लागिरहेको छ ।
तपाईलाई यो पुस्तक तयार पार्न कति समय लाग्यो ?
– मैले यो पुस्तक झन्डै सात वर्ष लगाएर निकालेको हुँ, जसमध्ये तीन वर्ष त मैले पूरै यसै किताबमै समय दिएको थिएँ । कतिसम्म भने, मर्निङवाक पनि मैले छाड्नुपरेको थियो ।
यो पुस्तक निकाल्नुपर्छ भनेर कसरी धारणा बन्यो ?
– लिम्बुवानमा धेरै ऐतिहासिक दस्तावेज छन् भन्ने मलाई राम्रोसँग थाहा थियो । तर विभिन्न ठाउँमा छरिएर रहेका दस्तावेजलाई संकलन गरेर नयाँ पुस्तालाई जानकारी दिनुपर्छ भन्ने हुटहुटी मलाई पनि लागेको थियो । खासमा यो काम राज्य वा राज्यका निकायहरूले गर्नुपर्दथ्यो, तर त्यो गरेको देखिएन । त्रिभुवन विश्वविद्यालयले केही अंशहरू त संकलन गरेको छ, तर पूर्ण नगरेको देखेपछि म आफैं यसमा भिडेको हुँ ।
व्यक्तिगत रूपमा हो कि कुनै संस्थाको सहयोगमा ?
– व्यक्तिगत रूपमै मैले यो संकलन गरेको हुँ । लिम्बुवान क्षेत्रका जिल्लाहरूमा आफैं पुगेर ऐतिहासिक दस्तावेज संकलन गरेको हुँ । यसरी संकलन गर्दा कति धेरै अप्ठ्यारा आइपर्यो भन्ने यो बुढो मान्छेलाई मात्रै थाहा छ ।
कति वर्ष लामो इतिहास यसमा संकलन छन् ?
– ३०१ वर्षसम्मका इतिहास यसमा समावेश छन्, त्यो पनि प्रमाणसहित ।
त्यति लामो समयसम्म कसरी दस्तावेज सुरक्षित भएका रहेछन् त ?
– लिम्बुवानका सुब्बाहरू दस्तावेजप्रति सचेत रहँदा यो सुरक्षित रहेको देखियो । अर्को कुरा, मान्छेहरूले जानीनजानी सुरक्षित गरेको देखियो । कतिसम्म भने यस्तो ऐतिहासिक दस्तावेज जलाउन खोजिरहेको अवस्थामा रहेछन्, संयोगवश म पुगेर त्यो लिन सम्भवः भएकाले संकलन गरेर पुस्तकमा उल्लेख गरेको छु ।
के के पाउनुभयो त ?
– सेन राज्य हुँदा लिम्बुवानका सुब्बाहरू निकै शक्तिशाली थिएँ, उनीहरूको राजासँग राम्रो पहुँच थियो । सुब्बाहरू शक्तिशाली थिए । पृथ्वीनारायण शाहपछि पनि लिम्बुवानका सुब्बाहरू निकै शक्तिशाली थिए, तर पछि क्रमशः उनीहरूको अधिकार खोसिँदै गएको देखिन्छ । सुब्बाहरू शक्तिशाली भएका कारण प्रमाण राख्न पनि दस्तावेजहरू सुरक्षित गरेको देखिन्छ ।
भनेपछि सुब्बाहरू महत्वपूर्ण हुने रहेछन् ?
– १८७७ को लालमोहर फर्काउनु भनेर आदेश दिएको रहेछ, जसअनुसार केहीले फर्काए पनि । तर मैले १८४४ को लालमोहर पनि पाएँ । यसपछि सुब्बाहरू दस्तावेजमा चेतनशील रहेछन् भन्ने बुझियो ।
तत्कालीन राजा र सुब्बाहरूको सम्बन्ध कस्तो रहेछ ?
– तत्कालीन राजाको विश्वासपात्रको रूपमा सुब्बाहरूले काम गरेको देखिन्छ, राज्यको नीतिहरू राजाले सुब्बाहरूमार्फत नै परिचालन गर्दथे । राजा वा सरकार भनौं भए पनि काम भने सम्पूर्ण सुब्बाहरूले नै गर्दथे, उनीहरू आफ्ना पालामा निकै शक्तिशाली रहेछन् । बस्ती उठाउने, बस्ती बसाउने देखाउनेसम्मका अधिकार रहेछन् । १८८४ अघि पराम्परागत सेनकालदेखि नै सुवाङीहरू थिए, पछि नयाँ रूपमा सुवाङीहरू थिए ।
यो पुस्तकमा नयाँ कुरा के छ, जो अरुले आजसम्म पत्ता लगाएका थिएनन् ?
– यसमा सबैजसो नयाँ कुरा नै छन्, त्यसलाई मिहिन तरिकाले हेरे मात्रै बुझिन्छ । मलाई के लाग्छ भने सेनकालका सक्कल प्रमाणहरू कसैले पनि प्रकाशित गरेको छैन, जुन मेरो पुस्तकमा प्रकाशित भएका छन् ।
दोस्रो, पृथ्वीनारायण शाह र उनका छोरा प्रताप सिंह कालगतिले मरेको भनेर इतिहासकारहरूले लेखेको पाइन्छ, तर मलाई त्यो लाग्दैन । जुन मृत्युप्रति आशंका गर्ने दस्तावेज मैले यस पुस्तकमा समावेश गरेको छु ।
भन्नाले ?
– पृथ्वीनारायण शाह र प्रताप शाह कालगतिले मारिएको भए मानिसहरूले शंका गर्नुपर्ने थिएन । दस्तावेजमा शंका गरिएका लेखिएका छन् । त्यो घटनापछि सोधपुछ गरिएको र सोधपुछपछि पनि भारदारहरू पनि मारिएको दस्तावेजमा उल्लेख भएको देख्दा मलाई शंका लागेको छ । यसमा अझै छानबिन हुनुपर्छ भन्ने लागेको छ ।
पृथ्वीनारायण शाह र प्रताप शाह कालगतिले मारिएको होइन भन्ने कसरी प्रमाण पुग्छ ?
– त्यसको कागजपत्र त मैले पुस्तकमा नै हालेको छु– कालगतिले मारिएको भए जनताले शंका गर्नुपर्ने कुनै कारण नै थिएन । अझ प्रताप शाह मारिएपछि त भारदारहरूलाई समातेर केरकार गरिएको छ, जुन बयानमा ‘अह्राएको काम गरेका हौं’ भनेर साविती बयानसमेत दिएका छन्, ज–जसले साविती बयान दिएका छन्, तिनलाई काटिएको पनि छ । कालगतिले मरेको भएँ, साविती बयान किन लिनुप¥यो, बयान लिएपछि काटिनु किन प¥यो ? यो इतिहासकारका लागि खोजको थप विषय हो । जो अहिलेसम्म कतै आएको थिएन ।
प्रताप शाहको ?
साविती बयान दिनेहरूले ‘स्वरूप कार्कीले अह्राएर काम गरेका हौं’ भनेर बयान दिएकालाई काटिएको छ, भनेपछि केही न केही त कैफियत छ ? यो थप अनुसन्धानको विषय हो ।
अनि पृथ्वीनारायण शाहको हकमा ?
– पृथ्वीनारायण शाहको हकमा जनताहरूले शंका गरेका छन् कि उनी कालगतिले मरेका होइनन्, केही न केही कैफियत छ भनेर आशंका व्यक्त गरेको देखिन्छ । यो दस्तावेज त परराष्ट्र मन्त्रालयसँग नै सुरक्षित छ, कुनै व्यक्तिले जम्मा गरेका दस्तावेजमा उल्लेख भएको विषय होइन ।
अझ बुझ्ने गरी भनिदिनुहोस् न ?
– पृथ्वीनारायण शाह १ माघ १८३१ मा नुवाकोटमा मरेको भनेर इतिहासमा पढ्दै आएका छौं । तर पूजा गर्ने स्थानको सन्दर्भलाई जोडेर हेर्दा उनको मृत्यु कालगति होइन भन्ने जनताले आशंका गरेको दस्तावेजमै उल्लेख छ । शाह वंशले गर्ने एक किसिमको पूजा, कुन पूजा हो ? थाहा भएन, तर भण्डारखाल (गौशाला) मा गरिनुपर्ने पूजा गरिएको छैन, त्यो पूजा अन्तै गरिएकाले जनताले पृथ्वीनारायण शाहको मृत्युमा त्यो बेला प्रश्न उठाएका रहेछन्, त्यसैले यसमा आशंका गर्ने ठाउँ छ ।

