चितवन । चितवनका पत्रकारलाई विपद् पत्रकारिता अभिमुखीकरण सम्बन्धी एक दिन कार्यशाला सम्पन्न गरिएको छ । विपद्को रिपोर्टिङ्ग गर्ने क्रममा आफू कसरी बचेर कसरी सूचना उपलब्ध गराउने भन्ने बिषयमा कार्यशालाको आयोजना गरिएको हो ।
आज (बिहिवार ) चितवनमा भरतपुर महानगरपालिकाको आयोजना तथा यूएनडीपीको सहकार्यमा भएको विपद पत्रकारिता अभिमुखीकरण कार्यशालामा बोल्ने व्यक्तिहरुले विपद जोखिमलाई न्यूनिकरण गर्न पत्रकारको भूमिका र पत्रकारले गर्ने सूचना प्रवाह महत्वपुर्ण हुने बताएका थिए ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रशासकीय प्रमुख भोजराज खतिवडाले सही सूचनाले सुशासन कायम राख्ने भएकाले सूचना नलुकाउन सरकारी कार्यालयलाई आग्रह गरे। उनले विपद ठाउँ विशेष र भौगोलिक अवस्थाले पनि हुने भएकाले यसलाई न्यूनिकरण गर्न पत्रकारले संयमित र सक्रिय भएर पत्रकारिता गर्नुपर्ने बताए । कार्यशालाका सहजकर्ता भूवन केसीले सरकारी कार्यालयका हरेक क्रियाकलापमा विपत् सँगै विकासलाई जोड्नु पर्ने बताए ।उनले े मिडियामा आएका खवरले सरकारी पक्षलाई कार्यान्वयन गर्न सहज हुने भएकाले जोखिम न्यूनिकरणलाई ध्यानमा राखेर पत्रकारिता गर्न आग्रह गरे ।
त्यस्तै नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले विपद पत्रकारिता आफैमा महत्वपुर्ण भएपनि विशेष गरि विपतको विषयमा विशेष रिपोटिङ हुन नसकेको बताए । उनले विपद् पत्रकारिता अभिमुखीकरण कार्यशालाले पत्रकारहरुले अझ विपद् सम्बन्धी रिपोटिङ गर्ने विश्वास व्यक्त समेत गरे । कार्यक्रममा युनडिपीका सूचना संचार विज्ञ आभुषण गौतमले पत्रकारले विपद्को रिपोर्टिङ्ग गर्दा सैदान्तिक एवं व्यवहारिक विषयका बारेमा अभिमुखीकरण गरेका थिए । कार्यक्रममा महानगरका उपप्रमुख पार्वती शाह , बालकृष्ण थपलिया लगायतले आफ्नो धारणा राखेका थिए ।

