चितवन। प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ अन्तर्गत दोश्रो दिन दुग्धजन्य क्षेत्रका सम्भावना, अवसर र चुनौती विषयक प्यानल छलफल कार्यक्रम भएको छ । चितवन उद्योग संघका कार्यबाहक अध्यक्ष मदन घिमिरेको अध्यक्षतमा भएको कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशु सचिव डा.राजेन्द्र मिश्र प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि मिश्रले देशभरैका दुग्ध किसानहरुको वर्तमान समस्यालाई सरकारको तर्फबाट छिट्टै हल गरिने बताउनुभयो । नेपालको सन्दर्भमा दुग्ध क्षेत्रमा निकै सम्भावना रहेकोले किसान र दुग्ध उद्यमीलाई इमान्दारिक पूर्वक लाग्न समेत आग्रह गर्नुभयो । प्रमुख अतिथि मिश्रले दुग्ध किसानहरुको लागि निकै महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्दै आभार समेत व्यक्त गर्नुभयो ।
प्यानल छलफल कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा.उमेश दाहाल, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष अमर बहादुर कुँबर, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्लाद दाहाल, राष्ट्रिय दुग्ध विकास संस्थानका निमित्त प्रमुख राजेन्द्र प्रसाद अधिकारी, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र प्रसाद यादव प्यानलिष्टको भूमिकामा रहनुभएको थियो । छलफलमा दुग्ध कृषक, सहकारी तथा उद्यमीहरुबाट आएका जिज्ञासाहरुलाई प्यानलिष्टहरुले समाधान गर्ने प्रयास गरेका थिए ।
प्यानल छलफल कार्यक्रमलाई पत्रकार विवेक पोख्रेलले सहजकर्ताको रुममा भूमिका निर्वाह गर्नुभएको थियो । छलफल कार्यक्रममा आयोजक संस्था चितवन उद्योग संघ तथा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका पदाधिकारी एवम् सदस्यहरु, विभिन्न संघ–संस्थाका प्रमुख एवम् प्रतिनिधिहरु, दुग्ध कृषक, सहकारी तथा उद्यमीहरुको सहभागिता रहेको थियो ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव कल्याण अधिकारीले सञ्चालन गर्नुभएको प्यानल छलफल कार्यक्रमलाई चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।