चितवन।चितवन जिल्लामा राष्ट्रिय जनगणना २०७८ का लागि २१० जना सुपरिवेक्षक खटिएका छन् । तथ्यांक कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार चितवनका सातै पालिकामा २१० जना सुपरिवेक्षक राष्ट्रिय जनगणनाको लागि आ–आफ्नो क्षेत्रमा खटिएका छन ।
भरतपुर महानगरपालिकामा १०७, रत्ननगर नगरपालिकामा ३०, कालिकामा १५, इच्छाकामनामा ९, खैरहनीमा १९, माडीमा १२ जना र राप्तीमा १७ जना सुपरीवेक्षक स्थलगत रुपमा खटिएका छन् ।
प्रमुख भण्डारीले असोज १८ गतेसम्म सुपरीवेक्षकले स्थलगतरूपमा सूचीकरण गर्ने बताए ।
आगामी असोज १० गते जिल्लामा जनगणनाका लागि ८५७ गणकको नतिजा सार्वजनिक हुनेछ । गणकको नियुक्तिपछि एक सुपरीवेक्षकले चार गणकलाई परिचालन गर्ने उनले बताए । गणकले कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म जनगणना गर्ने उनले जानकारी दिए ।
सङ्घीयतापछिको पहिलो जनगणना भएकाले गणकले कृषि गणनासमेत गर्ने छन् । विसं २०६८ को जनगणनाअनुसार चितवनमा पाँच लाख ७९ हजार ९८४ जिल्लाको जनसङ्ख्या छ ।

