चितवन । कोरोनाको कारण हरेक क्षेत्र आंशिक र पूर्ण रुपमा प्रभावित भएपनि आन्तरिक राजश्व कार्यालय, भरतपुको असुलीमा भने खासै प्रभाव परेको छैन । आर्थिक गतिविधिले गतिलिएसंँगै राजश्व असुलीमा पनि बृद्धि हुदै गएको छ । कार्यालयमा फागुन महिनामा ४ दशमलव २६ प्रतिशतले असुली बृद्धि भएकोमा चैत्र महिनामा आएर कार्यालयले २३ दशमलव ४९ प्रतिशत बढीले राजश्व असुली गरेको छ ।
कार्यालयले दिएको जानकारी अनुसार फागुन महिनामा कार्यालयलाई विभागले सबै शिर्षकमा गरी १ अर्ब ३९ करोड २६ लाख ५८ हजार लक्ष्य दिएकोमा १ अर्ब ४५ करोड २० लाख ४६ हजार हजार राजश्व संकलन भएको थियो । चैत्र महिनामा पनि राजश्व असुलीमा कार्यालयको उल्लेख्य प्रगति देखिएको छ । जसअनुसार चैत्र महिनामा १ अर्ब ६३ करोड ६६ लाख ४८ हजार राजश्व असुली लक्ष्य दिएकोमा २ अर्ब २ करोड १० लाख ८ हजार राजश्व असुली गरेको हो ।
सबैभन्दा बढी राजश्व असुली अन्तःशुल्कबाट
कार्यालयको राजश्व असुली अन्य शिर्षकको तुलनामा अन्तःशुल्कबाट नै बढी राजश्व असुली हुने गरेको छ । यस कार्यालयको करसंकलन क्षेत्रभित्र बढी मदिराजन्य उद्योगहरु र यसको कारोबार बढी रहेकोले यस शिर्षकबाट बढी राजश्व असुली गर्दै आएको हो । जस अनुसार कार्यालयले चैत्र महिनामा यस शिर्षकबाट मात्रै १ अर्ब ४२ करोड ३५ लाख ६८ हजार राजश्व असुल गरेको छ ।
विभागले कार्यालयलाई यस महिनामा १ अर्ब २१ करोड १३ लाख राजश्व असुली गर्ने लक्ष्य दिएको थियो । आयकर शिर्षकमा २७ करोड ६२ लाख ४ हजार लक्ष्य दिईएकोमा ३३ करोड ३४ लाख १० हजार रुपैयांँ राजश्व संकलन गरेको छ ।
यस्तै मुल्य अभिवृद्धि करमा पनि कार्यालयले लक्ष्य भन्दा बढी राजश्व असुली गरेको छ । चैत्र महिनामा यस शिर्षकमा १४ करोड २७ लाख ५० हजार रुपैयाँ लक्ष्य दिईएकोमा २५ करोड ६९ लाख १७ हजार रुपैयांँ राजश्व संकलन गरेको छ । व्याजकर शिर्षकमा १४ लाख ४६ हजार रुपैयांँ असुली गर्ने लक्ष्य दिईएकोमा २६ लाख ८ हजार रुपैयांँ राजश्व असुली गरेको छ ।
तर अन्य शिर्षकमा भने कार्यालयले लक्ष्य अनुसार राजश्व असुली गर्न सकेको छैन । जसअनुसार बहालकर शिर्षक अन्तर्गत कार्यालयलाई यस महिनामा ४७ लाख १६ हजार लक्ष्य दिईएकोमा ४५ लाख ९२ हजार राजश्व संकलन गरेको छ । शिक्षा सेवा शुल्क शिर्षकमा २ लाख ३२ हजार लक्ष्य दिईएकोमा ३ हजार रुपैयांँ राजश्व संकलन भएको छ भने स्वास्थ्य सेवा करमा कुनै लक्ष्य दिइएको छैन र यस शिर्षकमा राजश्व असुली शुन्य छ ।
कार्यालयका सूचना अधिकारी कपिलराज नेपालले चैत्र महिनामा अधिकांश करदाताको दोस्रो चौमासिक कर तिनुपर्ने भएकोले अन्य महिनाको तुलनामा यस महिनामा बढी राजश्व संकलन हुने गरेको बताए । ‘आर्थिक गतिविधि र व्यापार व्यवसाय पनि बढेको छ, । करदाताको अग्रिम आयकर र बक्यौता संकलनमा पनि बृद्धि हुदै गएको छ ।’ नेपालले भने ।
व्यवसायिक घराना बाहेकको बहालकर स्थानीय तहमा गएको र शिक्षा सेवा शुल्क शिर्षकहरुमा बक्यौता रकम मात्रै असुली गरेकोले राजश्व संकलन हालका महिनाहरुमा गर्न नसकिएको उनले बताए । स्वास्थ्य सेवा शुल्क अन्तर्गत तिनुपर्ने शुल्क यसअसघिनै सरकारले खारेज गरिसकेको छ । कार्यालयलाई चालु आर्थिक बर्षको बार्षिक लक्ष्य १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजार लक्ष्य दिईएकोमा चैत्र महिनामा सम्म १२ अर्ब १४ करोड ६० लाख ९० हजार रुपैयांँ संकलन गरेको छ ।