लमजुङ ।०७२ को भूकम्पले क्षति पुगेका विद्यालय धमाधम पुनर्निर्माण भइरहेको छ । विद्यालय भवन भत्किँदा विद्यार्थी टहरामा पठनपाठन गर्दै आएका थिए ।
विनाशकारी भूकम्पले क्षति पु¥याएका एक सय १६ विद्यालय पुनर्निर्माण गरिएको हो । शिक्षा विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ शिक्षाको कार्यक्रमअनुसार विद्यालय पुनर्निर्माण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) लमजुङले जनाएको छ ।
भूकम्पले क्षति पु-याएका एक सय ३१ वटा विद्यालयमध्ये एक सय १६ वटा विद्यालयको पुनर्निर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ लमजुङका प्रमुख अशोक पराजुलीले बताए । ‘बाँकी विद्यालय जग्गा नहुँदा र विवादका कारण निर्माण हुन सकेन,’ उनले भने ।
लमजुङमा रहेका तीन सय ५२ वटा विद्यालयमध्ये भूकम्पले एक सय १६ विद्यालय प्रभावित भएका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) लमजुङमार्फत विद्यालय पुनर्निर्माण गरिएको हो । जिल्लाको भौगोलिक बनोटका कारण अधिकांश विद्यालयमा पुनर्निर्माण कार्य तोकिएको समयमा सम्पन्न गर्न नसकिएको एकाइले जनाएको छ । विद्यालय व्यवस्थापन समिति, गैरसरकारी संस्था, साउदी अरेविया दूतावासमार्फत विद्यालय पुनर्निर्माण गरिएको हो ।