चितवन । सौराहा लेडिज जेसीजले समाज केन्द्रीत कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाएको छ ।
यही भदौ १२ गते सुरु भएको सप्ताह अन्तर्गत विपन्न विद्यार्थीलाई छात्राबृत्ती देखि गर्भवती महिलालाई पोष्टिक आहार वितरण लगायतका सामाजिक काम गरी सप्ताह मनाइएको सौराहा लेडिज जेसीज बर्ष २०२४/२५ की अध्यक्ष सुनिता पौडेल घिमिरेले जानकारी दिइन् ।
झुवानी माविको दृष्टिविहीन इकाइमा रहेका २९ जना बालबालिकालाई भोजन र दुई वटा विपन्न विद्यार्थीलाई छात्राबृत्ती प्रदान गरी सप्ताहको उद्घाटन गरिएको थियो । सप्ताह व्यापी कार्यक्रम अन्तर्गत सौराहा र राप्ती नदी किनारमा सरसफाई, रेवान महिला समुहसंगको सहकार्यमा तीज मिलन कार्यक्रम तथा स्लो स्कुटर रेस प्रतियोगिता गरिएको छ ।
सौराहा लेडिज जेसीजका पदाधिकारी, सदस्य र सौराहाका महिलाहरु बीच गरिएको उक्त प्रतियोगितामा सुस्मिता न्यौपाने प्रथम, करिष्मा चौधरी द्धितीय र लक्ष्मी गोदार तृतीय भएका थिए । सौराहा लेडिज जेसीजले सप्ताहकै अबसरमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना र गर्भवती महिलालाई पौष्टिक आहारको रुपमा अण्डा वितरण गरेको छ ।
साइक्याटरिक नर्सिङ एण्ड हेल्थ रिसर्ज सोसाइटीको सहयोगमा गरिएको सचेतनामुलक कार्यक्रममा ४० जनाको सहभागिता रहेको अध्यक्ष घिमिरेले जानकारी दिइन् । बछौली स्वास्थ्यचौकीमा आयोजित पोष्टिक आहार वितरण कार्यक्रममा २७ जना गर्भवती महिलालाई अण्डा वितरण गरिएको थियो ।
सप्ताहको भदौ १८ गते सौराहामा समापन कार्यक्रम हुँदै छ । समापन कार्यक्रममा सप्ताह सफल बनाउन सहयोग गर्नेलाई सम्मान तथा प्रतियोगितामा उत्कृष्ट भएकालाई पुरस्कार समेत वितरण हुने छ । अध्यक्ष घिमिरेले सौराहा लेडिज जेसीजले स्थापनाकाल देखि समाजकेन्द्रीत कार्यक्रम गर्दै आइरहेको भन्दै गरिव तथा विपन्न समुदायको शिक्षा र स्वास्थ्यमा सहयोग गर्दै आएको बताइन् ।