चितवन। बेसार गुणकारी औषधीजन्य मसला हो । केहीबर्ष पहिले कोरोना भाईरसको प्रकोपको समयमा अत्यन्तै चर्चित रहेको बेसार पानी । बेसार बिरामीदेखि सामान्य व्यक्तिसम्मलाई हितकारी हुन्छ । बेसार बिनाको भान्छा त कल्पनै गर्न सकिन्न ।
यसैबीच चितवनको कालिका नगरपालिका वडा नं ८ भर्लाघारीका दिदीबहिनीहरुले फालिएर झाडी बनेको गाउ‘को पाखो सफा गरेर बेसार खेतीको अभियान नै शुरु गरेका छन् । विजयेश्वरी श्रेष्ठको अध्यक्षतामा भर्लाघारी बेसार उत्पादन महिला समूह गठन गरी १८ कठ्ठा जमिनमा बेसारको अर्गानिक खेती शुरु गरिएको हो । अध्यक्ष श्रेष्ठले केही केहीबर्ष पहिलेसम्म दुर्व्यसनीको अखडा रहेको सो भेगमा झाडी फॉडेर खनजोत गरी बेसार लगाएको बताउनुभयो ।
सो क्षेत्रमा कृषि,पशुपालन एवम् नवप्रवद्र्धनमा काम गरिरहेको हेफर इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग,महिला समूह समन्वय समितिको सहकार्य र स्थानीय लगनशील महिला सहकारीको प्रत्यक्ष सक्रियतामा अर्गानिक बेसार लगाउने काम शुरु भएपछि करिव एक बर्षयता भर्लाघारी अहिले बेसारघारीमा परिणत भएको हो । बेसारको लागि खनजोत , करिव ९ सय केजी वीउ, आवश्यक मल र कृषि प्राविधिक हेफरले सहयोग गरेको छ । सो १८ कठ्ठा जमिन कालिका वडा नं ८ ले संरक्षण र खेती गर्नका लागि महिला समूहलाई उपल्वध गराएको हो । लगनशील सहकारीमा आवद्ध स्थानीय महिला दिदिवहीनीहरु भेला गरेर बेसार खेती,यसको फाइदा आदि,अहिलेको बजार आदिका बारेमा बताएपछि भर्लाघारी बेसार उत्पादन महिला समूह नै गठन गरेर अर्गानिक बेसार लगाईएको महिला समूह समन्वय समितिका कार्यक्रम संयोजक सिता पौडेलले बताउनुभयो ।
सो समूहका ३६ जना महिला आवद्ध छन् । उनीहरु घरको फुर्सद भयो की बेसार लगाएको बारीमा मिलेर काम गर्छन् । दिनभर घरकै काममा व्यस्त हुने महिलाहरु उद्यमशील पनि बन्ने र बिकृति पनि रोकिने भएपछि गाउ‘का दिदीबहिनीमा उत्साह पलाएको बेसार उत्पादन समूहकी सदस्य कन्चन तिवारी श्रेष्ठको भनाई छ ।
महिलाहरुको सक्रियता र सहभागिता देखेर स्थानीय टोलका पुरुषहरुले पनि सो अभियानमा साथ दिएका छन् । पुरुषहरुले बेसार उत्पादनको प्राविधिक बिषयमा सहयोग गरेको भर्लाघारी टोल बिकास संस्थाका अध्यक्ष ओमबिक्रम चेपाङले बताउनुभयो । उहॉले भन्नुभयो,“महिलाहरु उत्साही भएर बेसार खेती गछौं भनेपछि कालिका वडा नं ८ संगको समन्वयमा जग्गा मिलायौं ।” यो बेसारमा कुनै पनि बिसादी हालिएको छैन । प्राङगारिक मल र स्थानीय छापोबाट नै बेसार तयार गरिदैछ ।
पहिलो चरणमा अजिरकोट स्थानीय र सफल स्थानीय गरी दुई प्रजातिको बेसार लगाईएको छ कृषि प्राविधिक लिलामान प्रजाले बताउनुभयो । उहॉले बेसार खेती दीर्घकालिन बनाउन बेसार उत्पादनको आर्थिक,प्राविधिक र समग्र मुल्य श्रृखंलाको बारेमा महिलालाई तालिम पनि दिईरहको बताउनुभयो ।
हेफरको सहयोगमा अहिले तनहु‘ र चितवनमा गरी १५ बिगाहा जमिनमा अर्गानिक बेसार खेती शुरु गरिएको छ । जसमा २८ वटा समूहले काम गरिरहेका छन् । ५ वटा महिला सहकारीका ७ सय ८ जना महिलाहरु बेसार उत्पादनमा प्रत्यक्ष सहभागि भएका छन् । उत्पादित बेसार संस्थाले नै बजार मुल्यमा किनेर प्रशोधन गर्नेछ । जसका लागि चितवनको जुगेडीमा प्रशोधन केन्द्र तयार गरिदै छ । बेसार प्रशोधन केन्द्रका प्रमुख बिकास सापकोटाका अनुसार जुगेडी बेसार प्रशोधन केन्द्रले बार्षिक ५ सय टन बेसार प्रशोधन गर्न सक्ने क्षमता राख्दछ ।
हेफर नेपालका राष्ट्रिय निर्देशक तीर्थ रेग्मीले नेपालको माटो, भूबनोट बेसारका लागि अत्यन्तै प्रभावशाली र उर्वर भएकोले अब संभव हुने स्थानमा अर्गानिक बेसार खेतीको अभियान नै संचालन गर्ने बताउनुभयो । अर्गानिक बेसारको उत्पादन सर्टिफाई गरेर निर्यात गर्न सकिनेतर्फ हेफरको अध्ययन रहेको र सरकारका निकायसंग समन्वय भईरहेको निर्देशक रेग्मीले जानकारी दिनुभयो ।
बेसारका लागि पानी नजम्ने जमिन आवश्यक पर्छ । नेपालको भूबनोट,माटो पानी र मौसम पनि बेसार उत्पादनका लागि अत्यन्तै राम्रो मानिन्छ । नेपालमा भारतबाट मात्रै बार्षिक २८ देखि ३५ करोडको बेसार आयात भईरहेको सन्र्दभमा नीजी क्षेत्रबाट शुरु गरिएको यो अभियानमा स्थानीय सरकारहरु पनि प्रत्यक्ष रुपमा जोडिदा उत्पादन बढाई आयत रोक्न अझ प्रभावकारी र दीर्घकालिन देखिन्छ ।