चितवन ।नारायणी नदीमा एक महिना भित्र क्रुजसीप (सानो पानीजहाज) सञ्चालनमा ल्याउने तयारी गरिएको छ । राइनो वाटर इन्टरटेन्मेन्टले नारायणीमा निर्माण गरेको क्रुजसीप नियमित सञ्चालनको लागि अन्तिम तयारी गरिएको हो ।
“भरतपुर महानगरपालिका–१६मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ”, राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले भने, “हामीले २५ दिन भित्र सञ्चालन गर्ने गरि गृहकार्य थालेका छौँ । ” कडेलका अनुसार, क्रुजसीप भित्र एसी, बाथरुम, किचनहरु तयार भैसकेका छन् । बाँकी रहेको काम चार दिन भित्र सक्ने उनले बताए । क्रुजसीप भित्र राख्ने कुर्सि समेत तयार भैसकेका छन् । कोरोनाको महामारी नफैलिएमा यसलाई नियमित नै सञ्चालन गर्ने कंडेलले बताए ।
क्रुजसीपको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट गराउने योजना रहेको कंडेलले जानकारी दिए । उनका अनुसार, उद्घाटनका लागि प्रधानमन्त्री कार्यालसंग परामर्श भैरहेको छ । यस विषय बुझ्न प्रधानमन्त्रीका स्वकिय सचिव समेत चितवन आएको खुलेको छ ।
क्रुजसीपको सफल परीक्षण समेत गरिएको छ । यसअघि नै उपराष्ट्रपति नन्दबहादुर पुन, गृहमन्त्री रामबहादुर थापाबादल समेत आएर यसको परीक्षण गरिएको थियो । तर, केही काम बाँकी रहेकाले नियमित सञ्चालनमा आउन सकेको थिएन ।
सञ्चालनका लागि सरकारसंग भोग अधिकार समेत ल्याएको कंडेलले बताए । २०७६ सालको दशै अगाडी नै सञ्चालन गर्ने गरि काम थालिएपनि कोरोनाका कारण काम रोकिएको थियो । प्राविधिकहरु भारतबाट आउने भएकाले काम रोकिएको हो ।
सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै नारायणी किनारमा जहाज निर्माण शुरुआत भएको थियो ।
पानीजहाजसम्बन्धी उद्योग दर्ताको प्रावधान नभएकाले काममा केही ढिलाइ भएको थियो । मन्त्रिपरिषद्को बैठकले उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै सानो जहाज सञ्चालनमा ल्याउन लागिएको हो ।
क्रुजसीप निमार्णका लागि करिव १५ करोड रुपैयाँ लागेको उनले बताए । त्यसमध्ये वागमती प्रदेश सरकारले १ करोड रुपैयाँ सहयोग गरेको छ । क्रजसीप दुई तलाको बनाईको छ ।
भरतपुर महानगरपालिका–१६ स्थित ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाट बगरमा पोर्ट र क्रुज निर्माण भइरहेको छ । ज्ञानेश्वर सामुदायिक वनसँग २० वर्षको सम्झौता गरी क्रुज निर्माण गरिएको हो ।
क्रुजसीपमा बिहानी खाना (ब्रेकफाष्ट क्रुज), दिवा खाना (लन्च क्रुज) र रात्रिकालीन खाना (डिनर क्रुज)को समेत व्यवस्था हुनेछ । जहाजभित्र नै गायकको गीतमा पर्यटक रमाउन सक्नेछन् । बारहरु रहनेछन् । भूइतला मात्र वातावरण अनुकूलित बनाइने भनिएकोमा पहिलो तल्ला पनि वातावरण अनुकूलित बनाइने भएको छ । पहिलो तल्लाको अगाडिको भाग र दोस्रो तल्लासमेतमा पर्यटकले उभिएर अवलोकन गर्न सक्ने कँडेलले जानकारी दिए । क्रुजमा २०० जना सिटमा अट्ने छन् भने ३० जना उभिएर यात्रा गर्न सक्ने गरी स्वरुप परिमार्जन गरिएको छ ।
यात्राका क्रममा काभ्रेघाटबाट शुरु यात्रा देवघाट हुँदै फर्किएर गोलाघाटसम्म बाह्य दृश्य हेरेर यात्रु रमाउन सक्नेछन् । नेपालमा व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको यस प्रकारको क्रुज पहिलो रहेको बताइएको छ ।
ज्ञानेश्वर सामुदायिक वनसँगै नारायणी नदी छेउमा जहाज निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । यसको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्व तयारी गरिरहेको उनले बताए ।
क्रुजको निर्माण भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलले गरेको हो । क्रुजमा दुई इञ्जिन रहेका छन् । क्रुजको गति प्रतिघण्टा ३५ किलोमिटर हुनेछ । क्रुज निर्माण दुई बर्षअघि थालिएको हो ।