चितवन । चितवनको पर्यटक नगरी रत्नगरको सौराहा क्षेत्रमा १५ करोडको लगानीमा वाटर किङडम निर्माण प्रक्रिया सूरु गरिएको छ । सो क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन र पर्यटकलाई आकर्षण गर्न पानीसंँग सम्बन्धित गतिविधिका पूर्वाधार निर्माण शुरु गरिएको हो । ९ महिना निर्माण सम्म लक्ष्य दिएको वाटर किङ्गडममा बालबालिकाको लागि चिप्लेटी देखि पर्यटकका लागि बन्द हल भित्र कृत्रिम हिउंँ पार्ने सम्मको वाटर किङडममा पूर्वाधार निर्माण हुनेछन ।
रत्ननगरनगरपालिका वडा नम्बर ८ को बाघमारामा निर्माण सम्पन्न हुने किङडमको डीपीआर तयार गरी ठेक्का प्रक्रियाको काम अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । रत्ननगर नगरपालिकाको १० करोड ५० लाख र केन्द्र सरकारको ४ करोड ५० लाखको लगानीमा वाटर किङडम निर्माण हुने नगरपालिकाका इन्जिनियर पंकज गिरीले जानकारी दिए ।
गिरीका अनुसार सौराहाको पर्यटन विकासको लागि निकटमा रहेको बाघमारा स्थित चार विघा क्षेत्रफलमा वाटर किङडम निर्माण हुने छ । वाटर किङडममा तीन वटा कृत्रिम पोखरी,स्विमङ पुल,६० देखि ६५ मिटरको ६ वटा चिप्लेटी,पानी डान्स(हल भित्र कृत्रिम हिउ पार्ने), गर्मी छल्न हल भित्र कृत्रिम हिउँ,रोटे पीङ लगायतका आर्कषक पूर्वाधार निर्माण हुने उनले बताए ।सौराहा आउने पर्यटकलाई नयाँ अनुभूति दिन वाटर किङडम निर्माण सुरु गरिएको मेयर नारायण वनले बताए ।
‘सौराहाले नयाँ स्वाद खोजिरहेको छ उनले भने हामी रमणीय ठाउँ बनाएर पर्यटकलाई आनन्द दिनेछौं र यसले पर्यटकको बसाई अवधि लम्ब्याउन समेत मदत गर्नेछ ।’ सो नगरपालिकाले वाटर किङडम निर्माण गरी सञ्चालनको लागि निजी संस्था,व्यक्ति वा कम्पनीलाई जिम्मा दिने योजना बनाएको छ ।सुरुमा नगरपालिका र केन्द्र सरकारको लगानीमा निर्माण गर्ने र लगानीको लागि शेयर खुल्ला गर्ने योजना रहेको मेयर वनले बताए ।
सुरुमा निजी संस्था,व्यक्ति वा कम्पनी सञ्चालनको लागि जिम्मा दिने र उनीहरुले नगर भित्रका आमा समुह,सहकारी,क्लब,टोल विकास संस्था,क्लवहरुलाई न्यूनतमा शेयर रकम तोकेर शेयर खुल्ला गर्नुपर्ने छ । वाटर किङडम चितवनकै पर्यटन विकासको अनुपम स्थानको रुपमा स्थापित हुने मेयर वनको भनाई छ । सञ्चालनको चरणमा समुदायको लगानी हुने भएकाले सबैले अपनत्व ग्रहण गर्ने सक्ने भएकाले रत्ननगरको वाटर किङडम नेपालकै नमुना पर्यटकीय केन्द्रको रुपमा विकास हुने वनको विश्वास छ ।वाटर किङडमलाई सौराहाको प्याकेज कार्यक्रममा समावेस गरी यहाँ आउने अधिकाँस पर्यटकलाई यसको अबलोकन गराउने योजना रहेको छ ।
हात्ती चढेर निकुञ्ज घुम्ले पर्यटकलाई अर्को नयाँ कार्यक्रमको रुपमा वाटर किङडम निर्माण गर्न लागिएको भन्दै मेयर वनले यो पर्यटकको रोजाईमा पर्ने विश्वास व्यक्त गरे । हाल सौराहाको पर्यटन विकासको लागि सिसुवारमा गैंडा आकृतिको सभाहल,वडा नम्बर ९ मा होम स्टे सहितको रमणीय पार्क निर्माण भइरहेको छ । सौराहालाई पार्कहरुमा जोडेर पर्यटनको विकाससंगै स्थानीय समुदायको जीविकोपार्जनलाई सहज बनाउने योजना रहेको मेयर वनले वाटर किङडम,सभाहल र होम स्टे सहितको पार्क सञ्चालनमा आएपछि रोजगारीसंगै आयआर्जनका धेरै माध्यम सिर्जना हुने बताए ।