चितवन। उत्पादन खर्च वृद्धि भएपछि चितवनका इँटा उधोग तराइमा सर्न थालेका छन् । दुइ वर्ष अगाडिमात्र दुई दर्जन रहेका उद्योग अहिले दुईवटामा मात्र सीमित छन् । कच्चा सामग्रीको मूल्य वृद्धि, जग्गा र माटोको अभाव, मजदुर नपाउने भएपछि यहाँका इँटा उद्योग सर्लाही र रौतहटमा सर्न थालेको इँटा उधोग संघका जिल्ला अध्यक्ष नारायणप्रसाद सापकोटाले जानकारी दिए ।
‘चितवनको इँटाको अलगै माग थियो । तर, लागत खर्च धन्न सकिने अवस्थामा भएनौँ’, अध्यक्ष सापकोटालले भने, ‘दुई वर्ष अगाडि मात्र २४ वटा इँटा उद्योग सञ्चालनमा थिए । अहिले त्यो अवस्था छैन । गत वर्ष ६ वटा चलेको उद्योग अहिले दुईवटामा खुम्चिएको छ । त्यो पनि एक वर्षपछि बन्द हुन्छ’, सापकोटाले भने ।
यसै वर्षबाट सर्लाहीमा उद्योग स्थापना गरेका चितवनका गणेश इँटा उद्योगका सञ्चालक गणेश गुरुङले, ‘इँटाको लागि उपयुक्त माटाको अभाव हुन थाल्यो, लागत मूल्य वृद्धि भएर तराईका इँटासँग प्रतिस्पर्धा गर्न नसकेपछि सर्लाही गएका हौ ।’
उद्योगमा काम गर्न तराइबाट मजदुर ल्याउनु पर्ने, पोल्नको लागि कोइला तराईकै बाटो भएर ल्याउनु पर्ने, माटो पनि तराईकै राम्रो हुन थालेपछि उद्योग नै सर्लाहीमा स्थापना गरेको उनले बताए । चितवनका अन्य इँटा उद्योग सञ्चालकहरू पनि रौतहट र सर्लाहीमा जग्गा लिएर उद्योग स्थापनाको तयारी गरेको गुरुङले जानकारी दिए ।
कोरोनाभाइरस संक्रमण महामारीका कारण पनि इँटा उद्योगलाई ठूलो असर पारेको इँटा उद्योग संघका केन्द्रिय उपाध्यक्ष तथा जिल्ला अध्यक्षसमेत रहेका नारायणप्रसाद सापकोटाले जानकारी दिए । इँटा उद्योग बन्द भएपछि स्थानीय मजदुर, उद्योगसँग आश्रित व्यापार व्यवसायहरूमा प्रत्यक्ष रुपमा असर परेको छ । न्युज कारखाना