संखुवासभा । संखुवासभामा सामूहिक हत्याका आरोपितलाई प्रहरीले आज सार्वजनिक गरेको छ । एकै परिवारका ६ जनाको हत्यामा संलग्न मादी नगरपालिका वडा नम्बर १ उम्लिङका लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या गरेको आरोपमा उनकै भतिज नाता पर्ने लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।
घटनाको अनुसन्धानका लागि प्रदेश नं १ का प्रहरी प्रमुख डिआइजी बीसी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लगायत टोली घटनास्थल आइपुगेको थियो । ठूला अपराधका घटनाको अनुसन्धानमा सक्रिय सिआईबीलाई यो घटनामा पनि सफलता प्राप्त मिलेको छ ।
प्रहरीले लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको रगतले लतपतिएको कपडा र हथौडा बरामद गरेको जनाएको छ । लोकबहादुर मृतक तेजबहादुरका भतिज हुन् ।
लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार्की डिप्रेशनको औषधि खाइरहेका थिए ।
लोकबहादुरले आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । व्यक्तिगत रिसीबीका कारण हत्या भएको प्रहरीले जनाएको छ ।

