चितवन। त्रिशुलीमा खसेको बसमा सवार ४८ जनाको बिवरण खुलेको छ। बसमा रौतहट र वीरगञ्ज तथा भारतका यात्रु सवार हुँदा अहिले आफन्तमा त्रास उत्पन्न भएको छ।
काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बसका चालक किशोर चौधरी र कन्डक्टर ऋषि सिंहसहित ३० जना सबार थिए।
कलङ्कीस्थित गणपति ट्राभल्स बस काउन्टरले दिएको जानकारी अनुसार काठमाडौंबाट रौतहटका लागि २७ जना यात्रुले टिकट काटेर बस चढेका थिए। बस काउन्टरले उपलब्ध गराएको चलानी नम्बरमा बस चढेकाहरूको ठेगाना, मोबाइल नम्बर र नाम खुलाइएको छ भने थर उल्लेख गरिएको छैन।
काठमाडौं बस काउन्टरबाट प्राप्त भएको विवरणको आधारमा घर परिवारमा सम्पर्क गर्ने प्रयास भइरहेको रौतहटका प्रहरी प्रमुख एसपी दिलिप घिमिरेले बताए।
बागमती प्रदेश सशस्त्र प्रहरीका डिआइजी गणेश ठाडा मगरले काठमाडौंबाट रौतहट तर्फ आउँदै गरेको गणपति ट्राभन्स बस पहिरोको कारण दुर्घटना भएर त्रिशुलिमा खसेको पुष्टि गर्दै उद्वार कार्यमा जुटेको बताए।
यस्तै वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एञ्जल डिलक्स बसमा २१ जना यात्रुको विवरण प्राप्त भएको छ। हालसम्म प्राप्त विवरण अनुसार बसमा ७ जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।