ओखलढुङ्गा खिजीदेम्बा गाउँपालिकाले विद्यालयमा पत्रुखाना (जङ्कफुड) प्रतिबन्ध लगाएको छ । विद्यार्थी र शिक्षकले विद्यालयमा पत्रुखाना प्रयोग गर्न थालेपछि गाउँपालिकाले प्रतिबन्ध लगाउने नीति लिएको हो ।
खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष अध्यक्ष गम्बु शेर्पाले अर्गानिक उत्पादनको प्रयोगलाई बढवा दिन विद्यालय एवं विद्यालय परिसरमा जङ्कफुड प्रयोगमा प्रतिबन्ध लगाउने नीति कार्यान्वयन गर्न लागेको बताउनुभयो । उहाँले आयातीत मदिरा प्रयोगमा निषेध गर्दै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने नीति गाउँपालिकाले लिएको जानकारी दिनुभयो । गाउँपालिकाले विद्यार्थीलाई पोषणयुक्त खाजा खुवाउने भएको छ ।
गाउँपालिकाका चार विद्यालयमा पोषणयुक्त खाजा कार्यक्रम लागू भएको हो । विद्यालय खुल्न छ दिन नै फरकफरक विषयसूची बनाइ गाउँमै उत्पादित अर्गानिक खाजा विद्यार्थीले खान पाउनेछन् । यस वर्षको विद्यार्थी दिवा खाजा कार्यक्रमका लागि पालिकाले रु १५ लाख ३० हजार रकम विनियोजन गरेको छ । नर्वदेश्वर मावि रगनी, चण्डेश्वरी मावि पोल्थली, फूलमती मावि खिजीफलाटे र कुण्डली मावि खिजीकातीका सबै विद्यार्थीलाई गाउँमै फलेको अन्नको परिकार बनाएर पोषिलो खाजा खुवाइने छ ।
कार्यक्रमले शैक्षिक विकास र गुणस्तर सुधारम टेवा पुग्ने र स्थानीय उत्पादनको बजारीकरणका साथै नागरिक स्वस्थ बनाउने अभियान पनि सार्थक हुने गाउँपालिका अध्यक्ष शेर्पाले बताउनुभयो । सुरुआती चरणमा माध्यमिक तह सञ्चालित विद्यालयमा कार्यक्रम सञ्चालन हुने र क्रमशः सबै विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गर्ने नीति लिएको उहाँले जानकारी दिनुभयो ।
विद्यालयमा दिवा खाजासँगै छात्रवृत्ति वितरण सुरुआत पनि गरिएको छ । पहिलो चरणमा पाँच माध्यमिक तह सञ्चालित विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण थालिएको हो । पालिकाभित्र माध्यमिक तह सञ्चालित सातमध्ये पाँच वटा विद्यालयका २४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको संस्थाका अध्यक्ष साङडोमा शेर्पाले बताउनुभयो । अध्यक्ष शेर्पाका अनुसार छात्रवृत्तिवापतको ५० प्रतिशत रकम विद्यार्थीले तत्कालै सदुपयोग गर्न पाउने गरी हातमा र ५० प्रतिशत उनीहरुको भविष्यप्रति मध्यनजर राखिँदै विद्यालयको खातामा जम्मा गरिएको छ ।