चितवन। चितवनको कालिका नगरपालिका वडा नं. ११, वाङ्थलास्थित दक्षिणकाली आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यालयमा अध्ययनरत अति विपन्न चेपाङ समुदायका बालबालिकाहरुलाई सो राहत सामग्री वितरण गरिएको हो ।

भरतपुर महानगरपालिका मुनालचोक निवासी समाजसेवी शंकर प्रसाद ढुंगाना र शान्तिदेवी ढुङ्गानाको परिवारले उक्त सहयोग उपलब्ध गराएको हो । ढुंगाना दम्पतीसहित उहाँका ज्वाइँहरू भोजराज पौडेल र कमल प्रसाद शर्मा तथा छोरीहरू कल्याणी ढुंगाना, कमला बराकोटी र कल्पना ढुंगानाको सामूहिक आर्थिक सहयोगमा विद्यालयका कक्षा शिशुदेखि ५ सम्म अध्ययनरत करिब ८० जना विद्यार्थीलाई जाडोमा लगाउने ट्रयाकसुट र शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।
राहत वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं कालिका नगरपालिका–११ का वडा अध्यक्ष कृष्ण बहादुर प्रजाले सहयोगी दाताहरूको यो कार्यले अति विपन्न समुदायका चेपाङ बालबालिकाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको बताउनुभयो । उहाँले दुर्गम क्षेत्रका विद्यार्थीको शिक्षा र स्वास्थ्यमा यस्तो सहयोगले ठूलो टेवा पुग्ने धारणा राख्नुभयो ।
विद्यालयका प्रधानाध्यापक वासुदेव घिमिरेले विद्यालयमा यसअघि पनि सानातिना सहयोग आउने गरेको भए पनि हालको यो सहयोग निकै महत्वपूर्ण र ठूलो रहेको बताउनुभयो । “जाडोयाममा हाम्रा विद्यार्थीहरू काम्दै विद्यालय आउनुपर्ने बाध्यता थियो, अब न्यानो कपडा पाएपछि उनीहरूले ठूलो राहत महसुस गर्नेछन्,” प्रधानाध्यापक घिमिरेले भन्नुभयो । उहाँले सहयोगका लागि ढुंगाना परिवारप्रति हार्दिक आभार समेत प्रकट गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरज बहादुर प्रजाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षक, अभिभावक तथा स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो ।


