काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच एकीकरण भएको छ। नेकपाको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सम्पन्न वार्तापछि १० बुँदे सहमतिसहित दुवै पार्टी एकीकृत भएका हुन्।
एकीकरणपछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ नै रहनेछ भने चुनाव चिह्न ‘तारा’ रहने सहमति भएको छ। सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन्।
नागरिक उन्मुक्ति पार्टी थरुहट क्षेत्रमा मुख्य प्रभाव रहेको राजनीतिक दल हो। स्थानीय तह निर्वाचन २०७९ मा दुई नगरपालिका र दुई गाउँपालिका गरी चार स्थानीय तहमा विजय हासिल गर्दै यो दल कैलाली जिल्लाको सबैभन्दा ठूलो दल बनेको थियो। नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा ४ सांसद रहेका थिए भने सुदूरपश्चिम प्रदेश सभामा २ जना सदस्य रहेका छन्।

