विराटनगर । एम्बुलेन्स प्रयोग गरी गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा मोरङ प्रहरीले आइतबार राति हवाई फायर गरी दुई जनालाई नियन्त्रणमा लिएको छ।
आइतबार राति करिब साढे ११ बजे मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्स रोकेर जाँच गर्न खोज्दा चालक र एम्बुलेन्समा सवार व्यक्ति फरार हुन खोजेका थिए। त्यसपछि प्रहरीले एक राउण्ड हवाई फायर गरी एम्बुलेन्स नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार एम्बुलेन्स चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय निश्चल राई र एम्बुलेन्समा सवार साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बू भाग्ने प्रयास गरेपछि गोली चलाउनुपरेको थियो। उनीहरू दुवैलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो।
प्रहरीले एम्बुलेन्सबाट करिब ४८० किलो गाँजा बरामद गरेको जनाएको छ। बरामद गाँजा र एम्बुलेन्ससहित पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि शनिबार राति पनि मोरङको जहदा गाउँपालिका–२ तारिगामामा गाँजा ओसारपसारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो। उक्त घटनामा करिब ३३० किलो गाँजासहित भारतीय नागरिक २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई पक्राउ गरिएको थियो।
मोरङ प्रहरीले पछिल्लो समय लागूऔषध ओसारपसारविरुद्ध कडाइका साथ निगरानी र कारबाही अघि बढाएको जनाएको छ।

