काठमाडौँ । नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार अपडेट गरेको वर्ष २०२५ को ट्वान्टी–२० को अलराउन्डर विश्व वरियताको आठौँ स्थानमा कायम रहेका छन् ।
पाकिस्तानका साइम अयुब विश्वको शीर्ष अलराउन्डर हुँदा दोस्रो स्थानमा जिम्बाब्वेका सिकन्दर राजा छन् ।
वर्ष २०२५ को ट्वान्टी–२० विधाका अलराउन्डर वरियतामा नेपालका कुशल भुर्तेल २६ औँ स्थानमा परेका छन् । शीर्ष १०० मा नेपालका ६ खेलाडी समावेश हुँदा राष्ट्रिय टिमका कप्तान रोहित पौडेल ४२ औँ स्थानमा कायम छन् ।
यसैगरी अघिल्लो वरियतामा ४९ औँ स्थानमा रहेका गुल्सन झा एक स्थान तल झरेर ५० औँ स्थानमा पुगेका छन् । कुशल मल्ल ८७ औँ स्थानमा कायम छन् भने करण केसी एक स्थान तल झरेर ९८ औँ स्थानमा पुगेका छन् ।
त्यस्तै बलिङ वरियताको शीर्ष स्थानमा भारतका वरुण चक्रवर्ती हुँदा शीर्ष १०० मा नेपालबाट ३ खेलाडी समेटिएका छन् । नेपाली राष्ट्रिय टिमका ललित राजवंशी अघिल्लो वरियताबाट एक स्थान तल झरेर ७९ औँ स्थानमा पुग्दा दीपेन्द्रसिंह ऐरी ८० तथा सन्दीप लामिछाने ८८औँ स्थानमा कामय छन् ।
त्यस्तै ब्याटिङ वरियताको शीर्ष स्थानमा पनि भारतकै अभिषेक शर्मा छन् । ब्याटिङ वरियताको शीर्ष १०० मा नेपालबाट ऐरीसहित ४ खेलाडी परेका छन् । अलराउन्डर वरियताको शीर्ष १० मा रहेका ऐरी बलिङ र ब्याटिङ वरियताको पनि शीर्ष १०० मा छन् ।
ऐरी ब्याटिङ वरियताको ७३ औँ स्थानमा झरेका छन् । यो उनको अघिल्लो वरियता भन्दा एक स्थान तल हो । यसैगरी नेपालका कप्तान रोहित पौडेल ७५, आसिफ शेख ७७ र कुशल भुर्तेल ७८ औँ स्थानमा कायम छन् । बुधवारै सार्वजनिक गरिएको ट्वान्टी–२० टिम वरियतामा नेपाल १७ औँ स्थानमा कामय छ ।

