चितवन । संघीय अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा चितवनको भरतपुर अस्पतालले सबैभन्दा बढी ८८ अंक प्राप्त गर्दै देशकै उत्कृष्ट अस्पताल बनेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१ र ८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा जानकारी दिँदै नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले भरतपुर अस्पतालले गुणस्तरीय सेवा प्रवाहमा उल्लेखनीय प्रगति गरेको बताए । यस वर्षको मूल्यांकनमा १३ वटा संघीय अस्पतालहरूलाई समेटिएको थियो ।
मापदण्डमा दोस्रो स्थानमा बाँकेको भेरी अस्पतालले ८३ अंक प्राप्त गरेको छ । यस्तै, राष्ट्रिय स्तरका प्रमुख अस्पतालहरूमा वीर अस्पतालले ६७, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ६४, कोशी अस्पतालले ६३ अंक मात्र प्राप्त गरेका छन् ।
मन्त्रालयका अनुसार न्यूनतम सेवा मापदण्डमा क्लिनिकल सेवा, नर्सिङ सेवा, अस्पताल प्रशासन, संक्रमण नियन्त्रण, औषधि व्यवस्थापनलगायत सूचकहरू समावेश गरिएको हुन्छ ।

